काठमाडौँः सरकारले हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआइडिसिएल) लाई मर्जर प्रक्रियामा लैजाने घोषणा गरेको छ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शुक्रबार आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै समान उद्देश्य भएका वित्तीय संस्थासँग एचआइडिसिएलको एकीकरण गरिने बताएका हुन्।
सरकारले पूर्वाधार तथा ऊर्जा क्षेत्रमा लगानी केन्द्रित संस्थाहरूबीच सहकार्य बढाएर वित्तीय क्षमता सुदृढ बनाउने लक्ष्य लिएको जनाएको छ।
यद्यपि कुन संस्थासँग मर्जर गरिने भन्ने औपचारिक घोषणा भइसकेको छैन। पूर्वाधार विकास बैंक (निफ्रा) पनि पूर्वाधार तथा ऊर्जा क्षेत्रमा सक्रिय लगानी गर्दै आएकाले एचआइडिसिएल र निफ्राबीच मर्जर हुन सक्ने चर्चा बजारमा सुरु भएको छ।
सरकारले भने सम्भावित साझेदार संस्थाबारे विस्तृत निर्णय आगामी चरणमा सार्वजनिक गर्ने संकेत दिएको छ।


