काठमाडौँः सरकारले औपचारिक बैंकिङ च्यानलमार्फत रेमिट्यान्स पठाउन प्रोत्साहन गर्न लटरी कार्यक्रम सञ्चालन गर्ने घोषणा गरेको छ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शुक्रबार संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै यस्तो व्यवस्था सार्वजनिक गरेका हुन्।
सरकारका अनुसार विदेशबाट औपचारिक माध्यममार्फत नेपाल पठाइने प्रत्येक रेमिट्यान्स रिसिप्टका आधारमा लटरी कार्यक्रम सञ्चालन गरिनेछ। यसमार्फत सेवाग्राहीलाई विभिन्न उपहार तथा प्रोत्साहन सुविधा प्रदान गरिने योजना रहेको छ।
सरकारले अनौपचारिक माध्यमलाई निरुत्साहित गर्दै बैंकिङ प्रणालीमार्फत रेमिट्यान्स भित्र्याउन, विदेशी मुद्रा सञ्चिति मजबुत बनाउन तथा वित्तीय प्रणालीलाई थप व्यवस्थित बनाउन यस्तो कार्यक्रम ल्याएको जनाएको छ।


