२०८३ कार्तिक २१ गते शुक्रबार

आगामी आर्थिक वर्षमा भौतिक पूर्वाधार र शिक्षालाई प्राथमिकता, कुन मन्त्रालयलाई कति बजेट?

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, जेठ १५
swarnim (2)

काठमाडौँः नेपाल सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि कुल २१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज संघीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गरेको बजेट वक्तव्यअनुसार सरकारले भौतिक पूर्वाधार, शिक्षा, स्वास्थ्य र ऊर्जा क्षेत्रलाई उच्च प्राथमिकतामा राख्दै बजेट विनियोजन गरेको छ।

अर्थमन्त्रीले प्रस्तुत गरेको बजेटमा चालु खर्चतर्फ १२ खर्ब ७० अर्ब ५८ करोड (५९.८ प्रतिशत), पुँजीगत खर्चतर्फ ४ खर्ब ३१ अर्ब १० करोड (२०.३ प्रतिशत) र वित्तीय व्यवस्थातर्फ ४ खर्ब २२ अर्ब ६४ करोड (१९.९ प्रतिशत) विनियोजन गरिएको छ। बजेटको मुख्य उद्देश्य उत्पादनमुखी अर्थतन्त्रको विकास, सुशासन प्रवद्र्धन र नागरिकको जीवनस्तरमा सुधार ल्याउनु रहेको सरकारको भनाइ छ।

भौतिक पूर्वाधार मन्त्रालयलाई सबैभन्दा बढी बजेट

सरकारले विकासको आधारका रूपमा रहेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई सबैभन्दा बढी बजेट विनियोजन गरेको छ। यस मन्त्रालयका लागि कुल ३ खर्ब २ अर्ब ८३ करोड ५२ लाख रुपैयाँ छुट्याइएको छ। यसबाट पूर्व–पश्चिम राजमार्ग विस्तार, काठमाडौँ–तराई द्रुतमार्ग, नागढुङ्गा सुरुङमार्ग तथा अन्य रणनीतिक सडकहरूको स्तरोन्नति गरिने योजना छ।

शिक्षा क्षेत्रमा उल्लेखनीय लगानी

मानव पूँजी निर्माणलाई प्राथमिकता दिँदै सरकारले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका लागि २ खर्ब १८ अर्ब ३० करोड ५० लाख रुपैयाँ विनियोजन गरेको छ। यस रकमबाट विद्यालय पूर्वाधार सुधार, शिक्षक क्षमता विकास, डिजिटल शिक्षाको विस्तार तथा कृत्रिम बुद्धिमत्ता (एआई) को प्रयोगलाई प्रवद्र्धन गरिने उल्लेख छ।

गृह, रक्षा र सुरक्षा निकाय

शान्ति सुरक्षा र प्रशासन सुदृढ बनाउन गृह मन्त्रालयका लागि १ खर्ब ८ अर्ब ३२ करोड ९३ लाख रुपैयाँ विनियोजन गरिएको छ। त्यस्तै, रक्षा मन्त्रालयका लागि ६४ अर्ब ९६ करोड ७५ लाख रुपैयाँ छुट्याइएको छ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ

ऊर्जा उत्पादन र सिँचाइ विस्तारमार्फत कृषि उत्पादन वृद्धि गर्ने उद्देश्यले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका लागि १ खर्ब १४ अर्ब २ करोड ८२ लाख रुपैयाँ विनियोजन गरिएको छ। यसअन्तर्गत माथिल्लो अरुण, बुढीगण्डकी र दूधकोशी जस्ता ठूला जलविद्युत् आयोजनालाई प्राथमिकतामा राखिएको छ।

स्वास्थ्य र सामाजिक सुरक्षा

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका लागि ९६ अर्ब ४३ करोड ६३ लाख रुपैयाँ विनियोजन गरिएको छ। यसमध्ये स्वास्थ्य बीमा कार्यक्रमका लागि १५ अर्ब रुपैयाँ छुट्याइएको छ। सरकारले नागरिकलाई सर्वसुलभ स्वास्थ्य सेवा उपलब्ध गराउने लक्ष्य लिएको छ।

कृषि क्षेत्रमा लगानी

कृषि तथा पशुपन्छी विकास मन्त्रालयका लागि ७३ अर्ब १२ करोड २१ लाख रुपैयाँ विनियोजन गरिएको छ। रासायनिक मल खरिदका लागि मात्र ३२ अर्ब ४६ करोड रुपैयाँ छुट्याइएको छ। कृषि क्षेत्रलाई व्यवसायीकरण र आधुनिकीकरण गर्ने सरकारको लक्ष्य छ।

अर्थ मन्त्रालय र ऋण व्यवस्थापन

अर्थ मन्त्रालयका लागि ८४ अर्ब ७३ करोड ५८ लाख रुपैयाँ विनियोजन गरिएको छ। साथै, सार्वजनिक ऋण भुक्तानीका लागि ठूलो रकम छुट्याइएको छ। आन्तरिक ऋण भुक्तानीका लागि ३ खर्ब २८ अर्ब १४ करोड रुपैयाँ र वैदेशिक ऋण भुक्तानीका लागि ८९ अर्ब ७४ करोड रुपैयाँ विनियोजन गरिएको छ।

सामाजिक विकास र समावेशी कार्यक्रम

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका लागि १ खर्ब २२ अर्ब ६१ करोड ४३ लाख रुपैयाँ विनियोजन गरिएको छ। यस मन्त्रालयमार्फत सामाजिक सुरक्षा कार्यक्रम विस्तार, दलित बालबालिकाको पोषण भत्ता वृद्धि तथा ज्येष्ठ नागरिक लक्षित कार्यक्रम सञ्चालन गरिनेछ।

अन्य मन्त्रालयहरूको विनियोजन

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका लागि ५ अर्ब ९३ करोड ६० लाख रुपैयाँ, परराष्ट्र मन्त्रालय ८ अर्ब ७३ करोड ८२ लाख रुपैयाँ, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय १० अर्ब ५३ करोड ९२ लाख रुपैयाँ, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय ९ अर्ब ३४ करोड ७४ लाख रुपैयाँ, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयः १४ अर्ब ९४ करोड २४ लाख रुपैयाँ, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय ३ अर्ब ६२ करोड ६६ लाख रुपैयाँ र युवा तथा खेलकुद मन्त्रालयका लागि ४ अर्ब ३ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ ।

वित्तीय हस्तान्तरण र संघीयता

संघीयता कार्यान्वयनलाई सुदृढ बनाउन सरकारले प्रदेश र स्थानीय तहलाई ठूलो रकम वित्तीय हस्तान्तरणमार्फत पठाउने भएको छ। प्रदेशका लागि समानीकरण अनुदान ६१ अर्ब ५० करोड रुपैयाँ र स्थानीय तहका लागि ९० अर्ब २० करोड रुपैयाँ विनियोजन गरिएको छ। राजस्व बाँडफाँडमार्फत प्रदेश र स्थानीय तहलाई १ खर्ब ७५ अर्ब रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ।

त्यस्तै, सर्वोच्च अदालतलाई ९ अर्ब ४९ करोड १६ लाख रुपैयाँ, संघीय संसद्लाई १ अर्ब ७३ करोड ४८ लाख रुपैयाँ, अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई १ अर्ब ७१ करोड १९ लाख रुपैयाँ र निर्वाचन आयोगलाई ५९ करोड २ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ ।

अर्थमन्त्री वाग्लेले बजेटमार्फत केही महत्वपूर्ण नीति परिवर्तनको घोषणा गर्नुभएको छ। व्यक्तिगत आयकर छुटको सीमा १० लाख रुपैयाँ पु¥याइएको छ। भन्सार दर संरचनालाई ११ तहबाट घटाएर ७ तहमा सीमित गरिएको छ।

त्यस्तै, सरकारी संरचना पुनर्संरचना गर्दै मन्त्रालयको संख्या २२ बाट १८ मा घटाउने र अनावश्यक निकायहरू खारेज गर्ने नीति पनि बजेटमा समावेश छ।

डिजिटल भुक्तानीमा प्रोत्साहन स्वरूप भ्याट छुट, कर्मचारी तलबमा २१ प्रतिशत वृद्धि, तथा ‘टेक हब’ अवधारणाको विकास जस्ता कार्यक्रमले युवा तथा निजी क्षेत्रलाई उत्साहित बनाउने अपेक्षा गरिएको छ।
सरकारले आगामी आर्थिक वर्षमा ७ प्रतिशत आर्थिक वृद्धि हासिल गर्ने र मुद्रास्फीति ६ प्रतिशतको सीमाभित्र राख्ने लक्ष्य लिएको छ। ठूलो आकारको बजेट भए पनि यसको सफल कार्यान्वयन, स्रोत व्यवस्थापन र राजस्व संकलन सरकारका लागि प्रमुख चुनौती रहने देखिन्छ। यद्यपि, प्रस्तुत बजेटले नेपाललाई उत्पादनमुखी, डिजिटल र पूर्वाधार–केन्द्रित अर्थतन्त्रतर्फ अघि बढाउने स्पष्ट संकेत दिएको छ।

प्रकाशित: २०८३ जेठ १५ गते शुक्रबार ०८:५२
प्रतिक्रिया

थप समाचार

पूर्वाधार सम्मेलनमा १७ अर्ब डलरका परियोजना सोकेश गरिँदै

काठमाडौँ: आगामी डिसेम्बर ९ र १० मा हुने तेस्रो संस्करणको नेपाल पूर्वाधार सम्मेलन-२०२६ मा १७ अर्ब अमेरिकी डलरका परियोजनाहरु सोकेश गरिने भएको छ। पूर्वाधार विकास मन्त्रालय, नेपाल उद्योग परिसंघ...

 पूर्वाधारमा राज्यको बजेटले मात्रै पुग्दैन, निजी पुँजीलाई बढाउँछौँ: अर्थमन्त्री

काठमाडौँ: अर्थमन्त्री डा स्वर्णिम वाग्लेले सुशासन, कानुनी सुधार, पूर्वाधार विकास र निजी क्षेत्रको लगानी विस्तारलाई सँगसँगै अघि बढाउने बताएका छन्। बिहीबार नेपाल इन्फ्रास्ट्रक्चर समिट, २०२६...

२५ वर्षमा नेपाललाई कहाँ पुर्‍याउने? बनाइँदैछ ‘नेपाल डेभलपमेन्ट भिजन’

उनले भने, ‘२५ वर्षमा नेपाललाई कहाँ पुर्‍याउने भन्ने नेपाल डेभलपमेन्ट भिजनको एउटा अभ्यास गरौँ भनेर हामी लागिरहेको छौँ। र त्यसमा पनि निजी क्षेत्रको, अरू प्रबुद्ध वर्गको एउटा महत्त्वपूर्ण सहभागिता...

विद्युत् व्यापार गर्न १५ कम्पनीको आवेदन, ११ ले पाए आशयपत्र

सरकारले निजी क्षेत्रलाई विद्युत् व्यापारको ढोका खोलेको छ। ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले निजी कम्पनीहरूलाई धमाधम आशयपत्र (एलओआई) दिन थालेको छ।

धनुषाका गौरीशंकरले जिते १० लाख, १ लाख जित्ने १५ जनामा तपाईँ पनि पर्नुभयो कि? [सूची]

काठमाडौँ: धनुषाको नगराइन नगरपालिकाका गौरीशंकर पण्डितका लागि ४१५ रुपैयाँको एउटा सामान्य खरिद जीवनकै अविस्मरणीय संयोग बनेको छ। दैनिक उपभोग्य वस्तुका रूपमा किनेको तोरीको तेलले उनलाई एकैपटक...
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
kalyan
ब्लग

नेपाल प्रहरी जनताको सेवक हुने कि जनताको त्रासदिमा रमाउने?

मुलुकको सुरक्षा, जनचेतना, सामाजिक न्याय र अमनचयनको विषयलाई समाजशास्त्रको दृष्टिबाट हेर्दा नेपाल प्रहरी केवल एक ‘कानुन कार्यान्वयन गर्ने निकाय’ मात्र नभई राज्यको राजनीतिक, आर्थिक र सांस्कृतिक...
rameshowre
उद्योग

केटिएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।
mof_building
आर्थिक नीति

सम्पादकीय: टालाटुलीले तंग्रिन्न अर्थतन्त्र, सरकारसँग ‘म्यासिभ इन्भेस्टमेन्ट प्लान’ खै?

अर्थतन्त्रलाई गति दिन व्यवसायीमा गुमेको विश्वासको वातावरण फर्काएर ल्याउन र लगानीले ठूलो धक्का (बिग पुस) दिनुपर्ने देखिएको छ। यसका लागि सरकारले अहिले नै वृहत लगानी योजना (म्यासिभ इन्भेस्टमेन्ट...
News 1 (1).psd (31)
विचार

प्रसारण र विद्युत व्यापार: निजी क्षेत्रको अग्निपरीक्षा

आशयपत्र प्राप्त गर्ने कम्पनीहरूले प्रत्येक तीन महिनामा प्रगति विवरण पेस गर्दै आफ्नो क्षमता प्रमाणित गर्नुपर्छ। बजार खोज्ने, व्यापारिक साझेदार बनाउने, लगानी जुटाउने र आवश्यक प्राविधिक तयारी...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना