काठमाडौँ: विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले मन्त्रालयका लागि छुट्याएको बजेट बढी भएको बताएका छन्। प्रतिनिधिसभा बैठकमा सांसदहरूले उठाएका सवालको जवाफ दिँदै उनले बिहीबार कानुन नभएकाले खर्च गर्न नसकिने बताएका हुन्।
कानुन नबनाइ त्यत्तिकै खर्च गरे अख्तियारले पक्राउ गर्ने भन्दै उनले कानुन बनाउन सहयोग गर्न अनुरोध गरेका छन्।
‘म प्रस्टसँग के भन्न चाहन्छु भने यो वर्षलाई अलि बढी भयो कि? बढी भयो भन्ने कारण पनि छ के। ४ अर्ब पैसा छुट्याइयो। साढे तीन अर्ब अबण्डामा छ। त्यो पैसा खर्च गर्न ऐन, कानुन नियमावली बनाउनुपर्छ। अहिलेसम्म बनेको छैन। त्यतिकै खर्च गर्यो भने अख्तियारले हामीलाई पक्राउ गरिहाल्छ फलानो मन्त्रीले हिनामिना गर्यो भनेर। त्यस कारणले यो १ प्रतिशत भनेको अहिलेलाई ठीक छ। अलि थौरै गरेको भए पनि हुन्थ्यो। अब कानुन बनाउन माननीयज्यूहरुको सहयोग चाहियो,’ उनले भने।
सोही विषयमा सांसद हर्क साम्पाङले २ अर्ब ५१ करोड पैसा अबन्डामा भएको भन्दै कार्यक्रम नै नभए किन विनियोजित गरेको भनेर प्रश्न गरेका थिए। उनले बजेट दुरुपयोग हुन नदिन आग्रह गरेका थिए। मन्त्री पुनले मन्त्रालयका लागि आवश्यक कानुनहरू बनिनसकेको र साढे ३ अर्ब रुपैयाँ अवन्डामा रहेको भन्दै यो खर्च गर्न गाह्रो हुने बताए।


