काठमाडौं। कृषि, वन तथा पर्यावरण मन्त्रालयले आगामी साउन महिनाभित्र करिब दुई लाख १० हजार टन रासायनिक मल नेपाल भित्र्याउने तयारी गरेको छ।
किसानलाई राहत हुने गरी धानका लागि थप आवश्यक पर्ने मलको आपूर्ति सुनिश्चित गर्न मन्त्रालयले विभिन्न माध्यमबाट मल आयात प्रक्रिया अघि बढाएको हो।
मन्त्रालयका अनुसार सरकार–सरकार (जीटूजी) सम्झौताअन्तर्गत भारतबाट ३० हजार मेट्रिक टन युरिया मल ल्याउँदै छ। उक्त मल असार अन्तिमदेखि साउनको दोस्रो साताभित्र नेपाल आइपुग्ने सम्भावना देखिन्छ।
भारतसँग जिटूजिमार्फत ८० हजार मेट्रिक टन भएको सम्झौता अनुसार पहिलो चरणमा ५० हजार मेट्रिक टन मल साउन दोस्रो साता नेपालमा भित्रिने छ।
त्यसैगरी, अन्तर्राष्ट्रिय (ग्लोबल) टेन्डरमार्फत एक लाख ८० हजार टन रासायनिक मल आयात गरिने मन्त्रालयले जनाएको छ। यसमध्ये ६० हजार टन डीएपी र १ लाख २० हजार टन युरिया रहेको छ। यी मल साउनको पहिलो सातासम्म नेपाल भित्रिने लक्ष्य राखिएको मन्त्रालयले जनाएको छ।
ओमानमा लोडिगको प्रक्रियामा रहेको ३० हजार टन यूरिया मल असार अन्तिमसम्म कलकत्ता आइपुग्ने र साउनको दोस्रो सातामा नेपाल भित्रिने छ।
त्यसैगरी ३० हजार टन डीएपी होर्मुज पार भई भिसाखापटनम पोर्टमा पुगी सकेको छ। यो मल यही असर २० गतेसम्म नेपाल आइपुग्ने साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले जनाएको छ।
३० हजार टन यूरिया मल जहाजमा लोड भइसकेको र साउन पहिलो साता कलकत्ता बन्दगाह हुँदै साउन अन्तिमसम्ममा नेपाल आइपुग्ने छ।
मन्त्रालयले मध्यपूर्वमा जारी द्वान्दका कारणले अन्तराष्ट्रिय बजारमा मलको उपलब्धता घटे पनि किसानलाई राहत हुने गरी मल आपूर्ति गर्न लागि परेको छ।
चालु आर्थिक वर्षमा करिब ६ लाख टन रासायनिक मल कृषकलाई अनुदानमा उपलब्ध गराउने मन्त्रालयको लक्ष्य छ।


