काठमाडौं। देशभर हालसम्म २४.९ प्रतिशत रोपाईं सम्पन्न भएको छ। कृषि, वन तथा पर्यावरण मन्त्रालयका अनुसार कुल १३ लाख ७० हजार ६२ हेक्टर धान खेती हुने क्षेत्रफलमध्ये तीन लाख ४१ हजार २०९ हेक्टरमा रोपाइँ सम्पन्न भएको हो।
प्रदेशगत विवरणअनुसार कोशी प्रदेशमा दुई लाख ७६ हजार ३८६ मध्ये ४२ हजार ३५७ हेक्टर मा मात्र धान रोपाईं भएको छ। कोशीमा १५.३३ प्रतिशत क्षेत्रमा मात्र धान रोपाइँ भएको छ। मधेश प्रदेशमा तीन लाख ८५ हजार ९३३ हेक्टरमध्ये ६० हजार ३४६ हेक्टर मात्र भएको छ। मधेशमा १५.६४ प्रतिशत क्षेत्रमा रोपाइँ सम्पन्न भएको मन्त्रालयले जनाएको छ।
बागमती प्रदेशमा एक लाख १४ हजार ५२४ हेक्टरमध्ये ३८ हजार २६ हेक्टरमा रोपाईं भएको छ। बागमतीमा ३३.२१ प्रतिशत क्षेत्रमा धान रोपाइँ भएको मन्त्रालयले जनाएको छ। गण्डकी प्रदेशमा ९३ हजार ६०६ हेक्टरमध्ये ३५ हजार ८८१ हेक्टर अर्थात ३८.३३ प्रतिशत क्षेत्रमा धान रोपाइँ सम्पन्न भएको छ।
लुम्बिनी प्रदेशमा तीन लाख एक हजार ३७२ हेक्टरमध्ये ६२ हजार ६७० हेक्टर अर्थात २०.८० प्रतिशत क्षेत्रमा धान रोपाइँ भएको छ। कर्णाली प्रदेशमा ४३ हजार २९० हेक्टरमध्ये १२ हजार १८५ हेक्टर (२८.१५ प्रतिशत) क्षेत्रमा रोपाइँ सम्पन्न भएको छ।
सबैभन्दा बढी प्रगति सुदूरपश्चिम प्रदेशमा देखिएको छ। त्यहाँ एक लाख ५४ हजार ९५० हेक्टरमध्ये ८९ हजार ७४२ हेक्टरमा रोपाईं भएको छ। सुदुरपश्चिममा ५७.९२ प्रतिशत क्षेत्रमा धान रोपाइँ सम्पन्न भएको मन्त्रालयले जनाएको छ।
यस वर्ष मनसुन ढिलो सक्रिय हुनु र पर्याप्त वर्षा हुन नसक्दा गत वर्षको तुलनामा धान रोपाइँको गति सुस्त रहेको देखिएको मन्त्रालयले जनाएको छ।


