काठमाडौँ: नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि मौद्रिक नीति सार्वजनिक गरेको छ। गभर्नर विश्वनाथ पौडेलले मौद्रिक नीति सार्वजनिक गरेका हुन्।
व्यवस्थापन समितिको बैठकपछि सञ्चालन समितिको बैठकबाट स्वीकृत भएपछि मौद्रिक नीति सार्वजनिक गरिएको हो। हाल बाह्य दबाबका कारण मुद्रास्फीतिमा केही चाप परेको भएता पनि क्रमशः सहज हुँदै जाने अपेक्षा गरिएको छ। हाल विदेशी विनिमय सञ्चितिको स्थिति सुविधाजनक र समष्टिगत आर्थिक परिदृश्य अनुकूल रहेकोले उच्च आर्थिक वृद्धिको लक्ष्यमा सहयोग पुर्याउन न्यून-लागत अर्थतन्त्र कायम राखी निजी क्षेत्रको मनोबल उच्च राख्न यस अघि लिइएको सजगतापूर्वक लचिलो कार्यदिशालाई निरन्तरता मौद्रिक नीतिमार्फत दिइएको छ ।
आर्थिक वर्ष २०८३/८४ मा ५.५ प्रतिशतको हाराहारीमा मुद्रास्फीति र कम्तीमा सात महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त विदेशी विनिमय सञ्चिति कायम गर्दै ७.० प्रतिशतको आर्थिक वृद्धि हासिल गर्न आवश्यक मौद्रिक तरलता र विदेशी विनिमय व्यवस्थापन गरिने गभर्नर पौडेलले जानकारी दिए।
हाल सरकारको नेतृत्व गरिरहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले चुनावअघि नै १०० बुँदे बाचापत्रमा भारतीय भारतीय मुद्रासँगको विनिमयदर पुनरावलोकन गर्ने बताएको थियो। तर नेपाली रुपैयाँको भारतीय रुपैयाँसँगको स्थिर विनिमय दरलाई मौद्रिक नीतिको अङ्कुशको रूपमा लिइँदै आएकोमा यसलाई अन्तरिम लक्ष्यको रूपमा यथावत राखिएको गभर्नर पौडेलले बताए।
पूर्णपाठ


