हिजोआज सरकारले बन्द भएका पुराना उद्योगहरु–हेटौंडा कपडा उद्योग, गोरखकाली रबर उद्योग, वीरगन्ज चिनी कारखानालगायतका संस्थान पुनः सञ्चालनमा ल्याउने कुरा चर्चामा छ।
सुन्दा वाह! लाग्ने, देशमै वस्तु उत्पादन हुने भयो जस्तो लागे पनि यसमा अर्थशास्त्रको एउटा गम्भीर गल्ती लुकेको हुन सक्छ। जसलाई संक कस्ट फ्यलसी (डुबेको लगानीको भ्रम) भनिन्छ।
के हो संक कस्ट फ्यलसी?
सरल भाषामा भन्नुपर्दा पहिला नै धेरै लगानी र समय खर्च भइसक्यो। अब यसलाई त्यसै छोड्नु हुँदैन भनेर भविष्यमा झन घाटा हुने निश्चित हुँदाहुँदै थप पैसा र समय खन्याउनु हो।हाम्रा पुराना बन्द भइसकेका सरकारी उद्योगहरूको सन्दर्भमा यो कसरी लागु हुन्छ?
विगतको मोहः त्यहाँ अर्बौं रुपैयाँ पर्ने जग्गा छ। ठूला भवन र पुराना मेसिन छन्। विगतमा हाम्रो सान थियो भन्दैमा ती उद्योग आजको खुला बजारमा टिक्न सक्छन् त?
पुरानो प्रविधिः ३०–४० वर्ष पुराना मेसिन र प्रविधिले आजको सस्तो, आधुनिक र गुणस्तरीय अन्तर्राष्ट्रिय उत्पादनसँग प्रतिस्पर्धा गर्न असम्भव जस्तै छ। नयाँ मेसिन ल्याउन फेरि अर्बौं रुपैयाँ खर्च गर्नु पर्ने हुन्छ।
व्यवस्थापन र राजनीतिः फेरि पनि ती उद्योग राजनीतिक कार्यकर्ता भर्ती केन्द्र बन्ने र आम करदाता (तपाईं हाम्रो) पैसा ति उद्योगहरुको घाटापूर्ति गर्नमै सकिने जोखिम उच्च छ।
अर्थशास्त्रले भन्छ— हिजो लगानी डुबिसक्यो वा खर्च भइसक्यो भन्दैमा त्यसलाई बचाउने नाममा नयाँ पुँजी फेरि डुबाउनु बुद्धिमानी होइन। सरकारको काम उद्योग व्यापार आफैं चलाउने होइन। बरु, निजी क्षेत्रलाई उत्पादन र रोजगारी सिर्जना गर्न सहज वातावरण (नीति र पूर्वाधार) बनाइदिने हो।
भावना र नोस्टालिजयालाई एकातिर राखेर यथार्थमा सोच्ने बेला आएको छ। डुबिसकेको पैसालाई हेरेर हामीले आफ्नो भविष्यको लगानी पनि तिनै सेतो हात्ती पाल्न खर्च गर्ने कि नयाँ प्रविधि र पूर्वाधारमा?
(आचार्य कामना सेवा विकास बैंकका अध्यक्षका साथै व्यवसायी हुन्।)
