काठमाडौँ: आन्तरिक राजस्व विभागले आगामी महिनासम्म खपत भएको विद्युत् सेवामा मूल्य अभिवृद्धि कर (भ्याट) नलाग्ने प्रष्ट पारेको छ। आर्थिक ऐन, २०८३ ले विद्युत् सेवामा भ्याट लगाउने व्यवस्था गरेसँगै उपभोक्तामाझ अन्योलता सिर्जना भएको थियो।
विभागले सोमबार सार्वजनिक सूचना जारी गर्दै असार ३२ सम्म खपत भएको विद्युतको बिलिङ साउन १ गतेपछि भए पनि त्यसमा भ्याट नलाग्ने बताएको हो।
आर्थिक ऐन, २०८३ मार्फत सरकारले विद्युत् सेवामा पहिलोपटक भ्याट आकर्षित गरेको छ। जसअनुसार अन्तिम उपभोक्ता (सर्वसाधारण/घरायसी) मा ५ प्रतिशत भ्याट र अन्यको हकमा १३ प्रतिशत भ्याट लाग्नेछ।
यो नयाँ दर २०८३ साल साउन १ गतेदेखि हुने विद्युत् खपतमा मात्र लागू हुनेछ।
न्यूनतम शुल्कमा पनि भ्याट लाग्ने
विभागले विद्युत् प्राधिकरणले लिने न्यूनतम शुल्क वा डिमान्ड चार्जका सम्बन्धमा पनि स्पष्ट पारेको छ। साउन १ गतेदेखि जारी हुने कर विजकमा न्यूनतम शुल्क र डिमान्ड चार्जलाई पनि विद्युत् सेवाकै हिस्सा मानिने हुनाले त्यसमा समेत तोकिएको दरमा मूल्य अभिवृद्धि कर (भ्याट) लाग्ने विभागको सूचनामा उल्लेख छ।


