काठमाडौँः नेपाल राष्ट्र बैंकले करदाता प्रोत्साहन उपहार कार्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न भुक्तानी सेवा प्रदायक (पिएसपी)तथा भुक्तानी प्रणाली सञ्चालक (पिएसओ) हरूलाई आवश्यक सहजीकरण गर्न निर्देशन दिएको छ।
राष्ट्र बैंकले एक निर्देनन जारी गर्दै विद्युतीय भुक्तानी सेवा उपलब्ध गराउने संस्थाहरूलाई आन्तरिक राजस्व विभागले सञ्चालन गर्ने करदाता प्रोत्साहन उपहार कार्यक्रममा आवश्यक प्राविधिक तथा सञ्चालनसम्बन्धी सहयोग गर्नुपर्ने व्यवस्था गरेको हो।
यस व्यवस्थाअनुसार भुक्तानी सेवा प्रदायकहरूले आफ्नो प्रणालीलाई करदाता प्रोत्साहन कार्यक्रमसँग आवश्यक समन्वय हुने गरी विकास गर्नुपर्नेछ। साथै, विद्युतीय माध्यमबाट हुने कारोबारको अभिलेख व्यवस्थापन, तथ्याङ्क उपलब्ध गराउने तथा सम्बन्धित निकायसँग आवश्यक सूचना आदानप्रदानमा समेत सहजीकरण गर्नुपर्नेछ।
सरकारले उपभोक्तालाई विद्युतीय माध्यमबाट भुक्तानी गर्न तथा बिल लिने बानीको विकास गराउने उद्देश्यले करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालन गर्ने भएको। यस कार्यक्रममार्फत विद्युतीय भुक्तानी गरी स्थायी लेखा नम्बर (प्यान) वा व्यक्तिगत स्थायी लेखा नम्बर (प्यान) सहितको बिल लिने सेवाग्राहीमध्ये छनोट भएका व्यक्तिलाई उपहार प्रदान गरिन्छ।
राष्ट्र बैंकको नयाँ निर्देशनसँगै डिजिटल भुक्तानी प्रणाली र कर प्रशासनबीचको समन्वय थप प्रभावकारी हुने तथा विद्युतीय कारोबारको दायरा विस्तारमा सहयोग पुग्ने अपेक्षा गरिएको छ। साथै, करको दायरा विस्तार, पारदर्शी कारोबार प्रवर्द्धन र नगदरहित अर्थतन्त्र निर्माणमा समेत यसले टेवा पुर्याउने विश्वास गरिएको छ।


