काठमाडौं। नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचिकृत साहस ऊर्जा लिमिटेडको नाफामा ५२ प्रतिशत बढेको छ। गत आर्थिक वर्ष कम्पनीले एक अर्ब ३५ करोड रुपैयाँ खुदनाफा गरेको छ।
अघिल्लो वर्षको ८९ करोड ५१ लाख रुपैयाँ थियो। वित्तीय खर्च घट्नु र विद्युत बिक्रीबाट हुने आम्दानीमा सुधार आएपछि नाफामा बढोत्तरी देखिएको हो।
कम्पनीले सोलुखुम्बुस्थित ८६ मेगावाट क्षमताको सोलु खोला (दूधकोशी) जलविद्युत आयोजना सञ्चालन गरिरहेको छ। आयोजनाबाट उत्पादन भएको बिजुली नेपाल विद्युत प्राधिकरणलाई बिक्री गर्दै आएको छ। सोही आयोजनाबाट गत वर्ष २ अर्ब ८४ करोड रुपैयाँ आम्दानी भएको छ। अघिल्लो वर्ष यस्तो आम्दानी २ अर्ब ६४ करोड रुपैयाँ थियो।
कम्पनीको ब्याज खर्च एक वर्षमै ८० करोड २१ लाखबाट घटेर ५७ करोड ७५ लाख रुपैयाँमा झरेको छ। प्रशासनिक खर्च कटाएपछि सञ्चालन नाफा १ अर्ब ९७ करोड रुपैयाँ पुगेको छ भने कर तथा अमोर्टाइजेसनअघिको नाफा १ अर्ब ९९ करोड रुपैयाँ रहेको छ।
समीक्षा अवधिमा कम्पनीको चुक्ता पूँजी ४ अर्ब ५७ करोड ३८ लाख रुपैयाँ छ। जगेडा कोष ३ अर्ब १६ करोड २० लाख रुपैयाँबाट बढेर ३ अर्ब ६८ करोड ३ लाख रुपैयाँ पुगेको कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरणमा उल्लेख छ। मध्यम तथा दीर्घकालीन ऋण ९ अर्ब १७ करोड रुपैयाँबाट घटेर ८ अर्ब ८६ करोड रुपैयाँमा सीमित भएको छ।
कम्पनीको प्रतिशेयर आम्दानी (ईपीएस) २९ रुपैयाँ ६५ पैसा पुगेको छ। जुन अघिल्लो वर्षको तुलनामा उल्लेख्य सुधार हो। त्यस्तै, प्रतिशेयर नेटवर्थ १७९ रुपैयाँ ४७ पैसा कायम भएको छ।
यसैबीच, साहस ऊर्जाले आफ्नो सहायक कम्पनी टाइम्स एनर्जी प्राइभेट लिमिटेडमार्फत ३४१ मेगावाट क्षमताको बुढीगण्डकी ‘क’ जलविद्युत आयोजना अघि बढाइरहेको छ। उक्त आयोजनामा लगानी व्यवस्थापनका लागि कम्पनीले हकप्रद सेयर निष्कासनको प्रक्रिया पनि अघि बढाएको जनाएको छ।
हकप्रद सेयर जारीपछि सहास ऊर्जाको चुक्ता पुँजी दोब्बर बढेर नौ अर्ब १४ करोड ७६ लाख रुपैयाँ पुग्नेछ। विद्युत प्राधिकरण र आयोजनाबीच विद्युत खरिद–बिक्री सम्झौता (पीपीए) भइसकेको छ।
आयोजनामा नेपाल इन्भेस्टमेन्ट बैंकको अगुवाइमा १० बैंकले ५२ अर्ब ५० करोड लगानी गर्न भएका छन्। गत साउनमै टाइम्स इनर्जी र बैंक तथा वित्तीय संस्थाबीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो।
सम्झौताअनुसार एनआईएमबीले १० अर्ब, नबिल बैंकले आठ अर्ब, लक्ष्मी सनराइज बैंकले आठ अर्ब र ग्लोबल आइएमई बैंकले सात अर्ब ऋण लगानी गर्ने भएका छन्।
साथै हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआइडिसिएल) ले चार अर्ब, माछापुच्छ्रे बैंकले चार अर्ब, सिटिजन्स बैंकले तीन अर्ब, नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) ले तीन अर्ब, प्रभु बैंकले तीन अर्ब र कृषि विकास बैंकले दुई अर्ब ५० करोड ऋण लगानी गर्ने भएका छन्।
अर्धजलाशय आयोजनाबाट वार्षिक १ अर्ब ८३ करोड ७१ लाख ६० हजार युनिट बिजुली उत्पादन हुने अध्ययनले देखाएको छ।
आयोजनाको डिजाइन बहाब १ सय घनमिटर प्रतिसेकेन्ड छ। कुल हेड ३९८ मिटर रहने छ।
सुक्खायाममा पनि आयोजना दैनिक पाँच घन्टा पूर्ण क्षमतामा सञ्चालन गर्न सकिने अध्ययनले देखाएको छ। दैनिक पाँच घन्टा पिकिङ हुने गरी आयोजना डिजाइन गरिएको कम्पनीले जनाएको छ।
आयोजनाको मुख्य संरचना बुढीगण्डकी नदीको दायाँ किनारमा प्रस्ताव गरिएको छ। बुढीगण्डकीमा बाँध बाँधी नदीको दायाँपट्टि निर्माण हुने इन्टेकबाट पानी फर्काइ मुख्य संरचनाबाट भूमिगत सुरुङमा लगिने छ।
बिजुली उत्पादनका लागि बनाइने बाँधको लम्बाइ ५४ मिटर हुनेछ। बाँधमा १७ लाख घनमिटर पानी सञ्चय गर्न सकिने छ। बाँधको उचाइ ३८ मिटर हुने कम्पनीले जनाएको छ।
विद्युतगृहमा ५७ मेगावाट क्षमताका ६ वटा भर्टिकल एक्सेस पेल्टर्न टर्बाइन जडान गरिने छ।
आयोजनाबाट उत्पादन हुने बिजुली २२० केभी प्रसारण लाइन हुँदै ४५ किलोमिटर दुरीमा रहेको नुवाकोटमा बन्ने मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) ले बनाइरहेको ४०० केभी क्षमताको रातमाटे सबस्टेसनमा समाहित हनेछ।
आयोजना गण्डकी प्रदेश गोरखाको चुमनब्री र धार्चे गाउँपालिकामा पर्छ ।
साहस ऊर्जाले सोलुखोला दुधकोसी आयोजनाले २०७९ माघ अन्तिम सातादेखि व्यावसायिक उत्पादन थालेको हो। यस्तै कम्पनीले पाँच मेगावाटको हुग्दी खोला आयोजना पनि सञ्चालन गरिरहेको छ।


