काठमाडौँः नेपाल–भारत उद्योग वाणिज्य संघ (एनआईसीसीआई), युरोपियन इकोनोमिक चेम्बर नेपाल (ईईसी नेपाल) र बोशको संयुक्त आयोजनामा ‘एआई फर डिसिजन मेकर्स: एन एक्जिक्युटिभ वर्कशप फर लिडर्स’ शीर्षकको कार्यशाला सम्पन्न भएको छ।
कार्यशालामा प्रविधि साझेदारका रूपमा बोशले व्यवसायिक नेतृत्व, वरिष्ठ कार्यकारी, उद्यमी तथा नीतिनिर्मातालाई कृत्रिम बुद्धिमत्ता (एआई) को प्रभावकारी प्रयोगमार्फत व्यवसाय रूपान्तरण, उत्पादकत्व वृद्धि तथा रणनीतिक निर्णय प्रक्रियालाई सुदृढ बनाउने विषयमा प्रशिक्षण दिएको जनाएको छ।
कार्यक्रमको उद्घाटनसँगै बोशद्वारा प्रकाशित‘फ्रम हाइप टु स्ट्राटेजी – एआई फर डिसिजन मेकर्स’ पुस्तकको पनि विमोचन गरिएको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै बोश समूह भारतका अध्यक्ष तथा बोश लिमिटेडका प्रबन्ध निर्देशक गुरु प्रसाद मुद्लापुरले एआई प्रविधिमा पहुँच सहज भइसकेकाले अब संस्थाको प्रतिस्पर्धात्मक क्षमता रणनीतिक कार्यान्वयन र सक्षम नेतृत्वमा निर्भर रहने बताए।
उनले संस्थाले सामान्य स्वचालनभन्दा माथि उठेर आफ्नो क्षेत्रगत विशेषज्ञता, मानवीय विवेक र ग्राहकप्रतिको विश्वाससँग एआईलाई जोड्न सके मात्रै वास्तविक रूपान्तरण सम्भव हुने उल्लेख गरे।
कार्यक्रममा नेपालका लागि युरोपेली संघकी राजदूत भेरोनिक लोरेन्जो तथा नेपालका लागि जर्मनीका राजदूत उडो म्याक्स भोल्जको पनि उपस्थिति रहेको थियो। उनीहरूले डिजिटल नवप्रवर्तन, प्रविधि साझेदारी तथा निजी क्षेत्रको क्षमता अभिवृद्धिमा अन्तर्राष्ट्रिय सहकार्यको आवश्यकता औंल्याएका थिए।
कार्यशालाअन्तर्गत आयोजित ‘फायरसाइड च्याट’मा राष्ट्रिय योजना आयोगका सदस्य प्रा. डा. सुदन झाले नेपालमा एआईको सम्भावना, राष्ट्रिय विकासमा यसको भूमिका तथा सरकारी नीति, योजना र कार्यक्रमहरूमा एआईलाई समावेश गर्न भइरहेका पहलबारे प्रस्तुति दिएका थिए।
नेपालका लागि बोशका कन्ट्री हेड सन्दीप कामतले एआई अब भविष्यको अवधारणा मात्र नभई व्यवसायका लागि अपरिहार्य आवश्यकता बनिसकेको बताए। उनले कार्यशालाको उद्देश्य नेतृत्व तहलाई जिम्मेवारीपूर्वक एआई अपनाउने र त्यसलाई संस्थाका लागि मापनयोग्य मूल्यमा रूपान्तरण गर्ने व्यावहारिक ज्ञान प्रदान गर्नु रहेको बताए।
कार्यशालाको मुख्य प्रशिक्षण बोश इक्सिटाका हेड अफ इन्टरप्राइज एआई डा. कालेब मुनिमेट्टीले सञ्चालन गरेका थिए। उनले इन्टरप्राइज एआईका वर्तमान प्रवृत्ति, उच्च प्रभाव पार्ने एआई अवसर, एआईमा लगानी, लार्ज ल्याङ्ग्वेज मोडल (एलएलएम), एआई गभर्नेन्स तथा कार्यान्वयनका व्यावहारिक पक्षबारे प्रस्तुति दिएका थिए।
सहभागीहरूले अन्तरक्रियात्मक अभ्यासमार्फत दीर्घकालीन व्यवसायिक रणनीतिमा एआईलाई प्रभावकारी रूपमा समावेश गर्ने व्यावहारिक अनुभवसमेत हासिल गरेका थिए।
आयोजकका अनुसार उक्त कार्यशालाले एनआईसीसीआई, ईईसी नेपाल र बोशबीचको सहकार्यलाई थप सुदृढ बनाउनुका साथै नेपालको व्यवसायिक वातावरणमा नेतृत्व क्षमता अभिवृद्धि तथा उन्नत प्रविधिको जिम्मेवार र प्रभावकारी प्रयोगलाई प्रवद्र्धन गर्ने अपेक्षा गरिएको छ।


