काठमाडौँ: चेरी अटोमोबाइल ग्रुपअन्तर्गतको सबब्रान्ड आइकारको नयाँ अफरोड एसयूभी भी २७ नेपाली बजारमा भित्रिएको छ। नेपालका लागि आइकारको आधिकारिक वितरक एसपीजी अटोमोबाइल्सले गाडी ल्याएकोमा हाल विभिन्न सडकमा परीक्षण गरिरहेको जनाएको छ।
कम्पनीले आगामी साउन २६ गतेदेखि सुरु हुने नाइमा मोबिलिटी एक्स्पोमा यस मोडललाई औपचारिक रूपमा सार्वजनिक गर्ने तयारी गरेको छ। त्यसपछि मूल्य, उपलब्ध भेरियन्ट तथा बिक्रीसम्बन्धी विस्तृत जानकारी सार्वजनिक गरिनेछ।
आइकार भी २७ विस्तारित रेन्ज भएको विद्युतीय (ईआरईभी) प्रणालीमा आधारित एसयूभी हो। यसमा १.५ लिटर क्षमताको टर्बोचार्ज्ड पेट्रोल इन्जिनसँगै सीएटीएलद्वारा निर्मित ३४.३ किलोवाट–घण्टा क्षमताको एलएफपी ब्याट्री प्रयोग गरिएको छ। कम्पनीका अनुसार पूर्ण चार्जमा यसले करिब २१० किलोमिटरसम्म शुद्ध विद्युतीय दूरी तय गर्न सक्छ भने इन्धन ट्यांकीसमेत भरिएको अवस्थामा करिब १,२०० किलोमिटरसम्म यात्रा गर्न सक्ने क्षमता राख्छ।
अन्तर्राष्ट्रिय बजारमा यो मोडल रियर ह्वील ड्राइभ र अल ह्वील ड्राइभ दुवै विकल्पमा उपलब्ध भए पनि नेपालमा कुन संस्करण ल्याइएको हो भन्नेबारे वितरकले अझै स्पष्ट पारेको छैन।
अल ह्वील ड्राइभ संस्करणले ३३६ किलोवाटसम्म शक्ति र ५०५ न्यूटन–मिटर टर्क उत्पादन गर्ने क्षमता राख्छ। यो संस्करणले शून्यदेखि १०० किलोमिटर प्रतिघण्टाको गति करिब ५.५ सेकेन्डमा हासिल गर्न सक्छ। रियर ह्वील ड्राइभ भेरियन्टमा भने १८५ किलोवाट शक्ति र ३०० न्यूटन–मिटर टर्क उपलब्ध हुने कम्पनीको विवरणमा उल्लेख छ।
आकारका हिसाबले पनि भी २७ ठूलो एसयूभी हो। यसको लम्बाइ ५,०५५ एमएम, चौडाइ १,९७६ एमएम, उचाइ १,८९४ एमएम तथा ह्वीलबेस २,९१० एमएम रहेको छ, जसले यात्रुका लागि फराकिलो केबिन उपलब्ध गराउने अपेक्षा गरिएको छ।
केबिनभित्र १५.४ इन्चको २.५के रिजोलुसनयुक्त इन्फोटेनमेन्ट स्क्रिन जडान गरिएको छ। यसमा स्न्यापड्रागन ८२९५पी चिपसेटमा आधारित प्रणाली प्रयोग गरिएको छ। साथै २३ स्पिकर अडियो सिस्टम, छालाको सिट, पछाडिका यात्रुका लागि प्रशस्त लेगरुम तथा प्यानोरामिक सनरुफजस्ता प्रिमियम सुविधा समावेश छन्।


