काठमाडौँः स्टक ब्रोकर एसोसिएसन अफ नेपालको आगामी निर्वाचनका लागि अध्यक्ष पदमा सन सेक्युरिटिज प्रालि (ब्रोकर नं. ६४) का कार्यकारी अध्यक्ष तथा सेयर बजार विज्ञ कृष्ण गिरीले उम्मेदवारी घोषणा गरेका छन्।
वर्तमान अध्यक्ष सागर ढकालको दुईवर्षे कार्यकाल समाप्त हुन लागेसँगै एसोसिएसनभित्र नयाँ नेतृत्व चयनको प्रक्रिया तीव्र बनेको छ। यसैक्रममा गिरीले अध्यक्ष पदमा आफ्नो उम्मेदवारी घोषणा गर्दै ब्रोकर व्यवसायलाई थप व्यावसायिक, पारदर्शी र प्रविधिमैत्री बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।
एसोसिएसनको निर्वाचन नजिकिँदै जाँदा विभिन्न पदका आकांक्षीहरूले उम्मेदवारी घोषणा गर्न थालेका छन्। अध्यक्ष पदमा कृष्ण गिरीको उम्मेदवारीसँगै आगामी निर्वाचनले थप प्रतिस्पर्धात्मक रूप लिने अपेक्षा गरिएको छ।


