काठमाडौँः नेपालमा लगानी गरिरहेका ठूला बहुराष्ट्रिय कम्पनीको लगानी विस्तार र व्यवसाय सञ्चालनका क्रममा देखिएका अवरोध पहिचान गर्न अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज २० ठूला करदाता बहुराष्ट्रिय कम्पनीका प्रतिनिधिसँग छलफल गर्ने भएका छन्।
आर्थिक वर्ष २०८३/८४ को बजेट कार्यान्वयनलाई प्रभावकारी बनाउने उद्देश्यले आयोजना गरिएको छलफलमा बहुराष्ट्रिय कम्पनीका उच्चपदस्थ विदेशी तथा नेपाली प्रतिनिधिको सहभागिता रहनेछ । छलफल अर्थ मन्त्रालयको सुवर्ण हलमा मध्याह्न १२ बजे सुरु हुने कार्यक्रम छ ।
सरकारले बहुराष्ट्रिय कम्पनीबाट थप लगानी आकर्षित गर्ने तथा नेपालमा रहेका विदेशी लगानीकर्तालाई व्यवसाय विस्तारका लागि सहज वातावरण बनाउने विषयलाई छलफलको प्राथमिकतामा राखेको छ ।
छलफलमा कम्पनीहरूले बजेटमार्फत प्राप्त गरेका सुविधा, व्यवसाय सञ्चालनमा देखिएका समस्या, लगानी विस्तारका सम्भावना तथा सरकारबाट अपेक्षित सहजीकरणबारे आफ्ना धारणा राख्नेछन् । त्यसैगरी रोजगारी सिर्जना, लगानीको प्रतिफल तथा कम्पनीले आर्जन गरेको प्रतिफल विदेश लैजाने प्रक्रियामा देखिएका विषयसमेत छलफलमा उठ्ने अपेक्षा गरिएको छ ।
अर्थमन्त्री वाग्लेले सहभागी कम्पनीका प्रतिनिधिलाई व्यवसाय सञ्चालनका क्रममा भोगिरहेका समस्या तथा नीतिगत सुधारका विषयमा खुलेर सुझाव दिन आग्रह गर्ने कार्यक्रम रहेको छ । आवश्यक विषयमा लिखित सुझाव तथा विवरणसमेत उपलब्ध गराउन भनिनेछ ।
यो छलफल सरकार र निजी क्षेत्रबीच बजेट कार्यान्वयन तथा लगानी वातावरण सुधारका विषयमा प्रत्यक्ष संवाद गर्ने अर्थ मन्त्रालयको शृङ्खलाको निरन्तरता हो ।
यसअघि अर्थमन्त्री वाग्लेले नेपालमा उत्पादनमूलक उद्योग सञ्चालन गरी ठूलो मात्रामा रोजगारी सिर्जना गरेका तथा अर्थतन्त्रमा उल्लेख्य योगदान पुर्याएका ३३ औद्योगिक घरानाका प्रतिनिधिसँग छलफल गरिसकेका छन् ।
त्यस्तै, उनले ‘क’ वर्गका वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत तथा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशकहरूसँग पनि बजेट कार्यान्वयन र आर्थिक गतिविधिका विषयमा छलफल गरिसकेका छन् ।
