काठमाडौँः कुमारी बैंकको गत आर्थिक वर्ष २०८२/०८३ मा खुदनाफामा उछाल आएको छ। गत आर्थिक वर्षमा बैंकको खुदनाफा ३०६ प्रतिशत बढेर ७ अर्ब ३८ करोड ७१ लाख रुपैयाँ पुगेको छ।
यो रकम अघिल्लो आर्थिक वर्ष २०८१/०८२ मा बैंकको खुदनाफा १ अर्ब ८१ करोड ९६ लाख रुपैयाँ मात्र थियो।अघिल्लो वर्षको तुलनामा गत वर्ष कुमारीको नाफा ५ अर्ब ५६ करोड रुपैयाँ बढेको सार्वजनिक गरिएको वित्तीय विवरणमा उल्लेख छ।
बैंकले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार समीक्षा अवधिमा खुद ब्याज आम्दानी ३.३६ प्रतिशत वृद्धि भई १२ अर्ब १ करोड ३० लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष यस्तो आम्दानी ११ अर्ब ६२ करोड १५ लाख रुपैयाँ थियो।
यस अवधिमा बैंकले खुद शुल्क तथा कमिसनबाट ३ अर्ब ४ करोड ८८ लाख रुपैयाँ आम्दानी गरेको छ। कुल सञ्चालन आम्दानी १६ अर्ब ३५ करोड ८४ लाख रुपैयाँ पुगेको छ। सञ्चालन नाफा ११ अर्ब २३ करोड ५५ लाख रुपैयाँ कायम भएको छ। अघिल्लो आर्थिक वर्ष बैंकको सञ्चालन नाफा ५ अर्ब ५८ करोड ७१ लाख रुपैयाँ रहेको थियो।
बैंकको वितरणयोग्य नाफा पनि धनात्मक देखिएको छ। गत आर्थिक वर्षको अन्त्यसम्म वितरणयोग्य नाफा ७९ करोड १६ लाख रुपैयाँ पुगेको छ। जसअनुसार बैंकको लाभांश वितरण क्षमता ३.०२ प्रतिशत रहेको छ।
बैंकको चुक्ता पुँजी २६ अर्ब २२ करोड ५८ लाख र जगेडा कोषमा १७ अर्ब ७७ करोड ६५ लाख रुपैयाँ सञ्चित छ।
निक्षेप संकलनतर्फ पनि बैंकले वृद्धि गरेको छ। गत असारसम्म बैंकको कुल निक्षेप १०.४४ प्रतिशतले बढेर ४ खर्ब २ अर्ब ७३ करोड रुपैयाँ पुगेको छ। त्यस्तै, कर्जा लगानी ४.०७ प्रतिशतले वृद्धि भई २ खर्ब ७० अर्ब ९२ करोड रुपैयाँ पुगेको छ।
बैंकको प्रतिसेयर आम्दानी ९(ईपीएस) अघिल्लो वर्षको ६.९४ रुपैयाँबाट बढेर २८.१७ रुपैयाँ पुगेको छ। प्रतिसेयर नेटवर्थ १७०.८० रुपैयाँ रहेको छ।
यद्यपि, बैंकको खराब कर्जा भने बढेको छ। अघिल्लो वर्ष ६.९५ प्रतिशत रहेको खराब कर्जा अनुपात गत आर्थिक वर्षको अन्त्यसम्म ७.४६ प्रतिशत पुगेको छ।
