काठमाडाैँ: नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा. गोपालप्रसाद भट्ट र अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)का नेपालस्थित आवासीय प्रतिनिधि प्रनभकुमार गुप्ताबीच नेपालको पुँजी बजार विकासका विषयमा छलफल भएको छ।
मंगलबार बोर्डको खुमलटारस्थित कार्यालयमा भएको भेटवार्तामा नेपालको पुँजी बजारको विकास, नीतिगत सुधार तथा बोर्डको संस्थागत क्षमता अभिवृद्धिलगायतका विषयमा छलफल भएको हो।
भेटका क्रममा नेपालको पुँजी बजारलाई थप व्यवस्थित र प्रभावकारी बनाउन आवश्यक नीतिगत सुधारका विषयमा समेत छलफल भएको बोर्डले जनाएको छ।
त्यसैगरी, बोर्डको संस्थागत क्षमता अभिवृद्धि तथा पुँजी बजार सुधारका लागि अन्तर्राष्ट्रिय संस्थासँगको सहकार्य र समन्वयका विषयमा पनि कुराकानी भएको थियो।
सो क्रममा आईएमएफका प्रतिनिधिले बोर्डले अघि बढाएका पुँजी बजार सुधारका कदममा आईएमएफलगायत वित्तीय क्षेत्रका अन्तर्राष्ट्रिय संस्थाहरूको सहयोग र समन्वय रहने प्रतिबद्धता व्यक्त गरेका छन्।
बोर्ड र आईएमएफबीचको यस्तो सहकार्यले नेपालको पुँजी बजारमा नीतिगत सुधार, संस्थागत क्षमता विकास तथा नियामकीय प्रणालीलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।


