काठमाडौँः साताको अन्तिम कारोबार दिन सेयर बजारमा बिक्री दबाब देखिएको छ। शुक्रबार नेप्से परिसूचक १० अंकभन्दा बढीले घट्दा कारोबार रकमसमेत अघिल्लो दिनको तुलनामा कम भएको छ।
शुक्रबार नेप्से परिसूचक १०.६७ अंकले घटेर २ हजार ६१८.७२ विन्दुमा पुगेको छ। बिहीबार भने नेप्से सामान्य अंकले बढेर बन्द भएको थियो।
बजार घटेसँगै कारोबारको आकार पनि खुम्चिएको छ। शुक्रबार ३४४ स्टकको ४ अर्ब १६ करोड ७६ लाख १८ हजार रुपैयाँबराबरको १ करोड २२ हजार कित्ता सेयर किनबेच भएको छ।
बिहीबार भने बजारमा ४ अर्ब ४० करोड रुपैयाँबराबरको शेयर कारोबार भएको थियो। आज बजार समग्रमा कमजोर रहे पनि केही कम्पनीको सेयरमा भने खरिदकर्ता आकर्षित भएका छन्। शुक्रबार सर्वोत्तम पेन्ट्सको सेयर मूल्य १४.९९ प्रतिशतले बढेको छ।
त्यस्तै, कारोबारमा आएको धौलागिरी लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य ५.२६ प्रतिशतले घटेको छ।
रिलायन्स स्पिनिङ्गमा लगानीकर्ताको आकर्षण
कारोबार रकमका आधारमा भने रिलायन्स स्पिनिङ्ग मिल्स अगाडि रहेको छ। कम्पनीको २६ करोड ३७ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ।


