काठमाडौँः सेयर बिक्री गरेपछि ईडीआईएस गर्न बिर्सिएर लगानीकर्ता जरिवानामा पर्ने समस्या समाधान गर्न नेपाल धितोपत्र बोर्ड (सेबोन)ले स्वचालित ईडीआईएस (अटो ईडीआईएस) प्रणाली लागू गर्ने प्रक्रिया अघि बढाएको छ।
हाल सेयर बिक्री गरेपछि लगानीकर्ताले ‘मेराे सेयर’ प्रणालीमा गएर ईडीआईएस गर्नुपर्ने व्यवस्था छ। ईडीआईएस गर्न छुट्दा कतिपय लगानीकर्ता जरिवानामा पर्दै आएका छन्। यही समस्या हटाउन सेबोनले कारोबार व्यवस्थापन प्रणाली र ‘मेरी सेयर’बीच एपीआई इन्टिग्रेसनमार्फत स्वचालित ईडीआईएसको व्यवस्था गर्न लागेको हो।
यसका लागि आवश्यक कानुनी तथा संरचनागत सुधारबारे अध्ययन गरी सुझाव पेस गर्न सेबोनले सीडीएस एन्ड क्लियरिङ लिमिटेड (सीडीएससी)लाई निर्देशन दिएको छ।
सेबोनले मंगलबार सीडीएससीलाई दिएको पाँचबुँदे निर्देशनमा कारोबार व्यवस्थापन प्रणाली र मेरी सेयरबीच एपीआई इन्टिग्रेसन गरी अटो ईडीआईएस लागू गर्न आवश्यक कानुनी तथा संरचनागत सुधारसहितको अध्ययन गरेर पेस गर्न भनेको छ।
टी प्लस टुमा रकम उपलब्ध गराउन निर्देशन
सेबोनले सेयर कारोबारको ‘टी प्लस टु’ सेटलमेन्ट अवधिमा लगानीकर्ताले पाउनुपर्ने रकम समयमै उपलब्ध हुने व्यवस्था प्रभावकारी रूपमा कार्यान्वयन गर्न पनि सीडीएससीलाई निर्देशन दिएको छ।
नेपालको सेयर बजारमा कारोबार भएको दोस्रो कार्यदिनमा सेयर तथा रकमको सेटलमेन्ट हुने व्यवस्था छ। त्यसैले बिक्रीकर्ताले पाउनुपर्ने रकम र खरिदकर्ताको खातामा सेयर हस्तान्तरणको प्रक्रिया समयमै पूरा गर्न सेबोनले जोड दिएको हो।
लगानीकर्तालाई तत्काल सूचना पठाउनुपर्ने
सेबोनले लगानीकर्तालाई विभिन्न महत्वपूर्ण कारोबार तथा निष्कासनसम्बन्धी सूचना तत्काल उपलब्ध गराउने व्यवस्था गर्न पनि सीडीएससीलाई भनेको छ।
यसअन्तर्गत आईपीओ निष्कासनसम्बन्धी सूचना, आईपीओ आवेदन, बोनस तथा हकप्रद सेयर निष्कासन, लाभांश वितरण, सेटलमेन्ट, डिम्याट खाताबाट सेयर डेबिट तथा लकइनसम्बन्धी जानकारी लगानीकर्तालाई ‘पुस नोटिफिकेसन’मार्फत पठाउने व्यवस्था गर्न निर्देशन दिइएको छ।
यसले लगानीकर्ताले आफ्नो डिम्याट तथा सेयर कारोबारसँग सम्बन्धित महत्वपूर्ण गतिविधिबारे समयमै जानकारी पाउने अपेक्षा गरिएको छ।
लगानीकर्ताको झन्झट घट्ने अपेक्षा
हाल सेयर बिक्री गरेपछि ईडीआईएस प्रक्रिया आफैं पूरा गर्नुपर्ने भएकाले लगानीकर्ताले समयमै प्रक्रिया पूरा नगर्दा समस्या हुने गरेको छ। विशेषगरी नयाँ लगानीकर्ता तथा नियमित रूपमा ‘मेरी सेयर’ नचलाउने लगानीकर्ताले ईडीआईएस गर्न छुटाउने गरेका छन्।
अटो ईडीआईएस लागू भएपछि सेयर बिक्री गरेपछिको हस्तान्तरण प्रक्रिया स्वचालित हुने भएकाले लगानीकर्ताले छुट्टै रूपमा ईडीआईएस गर्नुपर्ने झन्झट कम हुने अपेक्षा गरिएको छ।
यद्यपि, अटो ईडीआईएस प्रणाली तत्कालै कार्यान्वयनमा आइसकेको भने होइन। यसको कार्यान्वयनका लागि आवश्यक कानुनी, प्राविधिक तथा संरचनागत व्यवस्था अध्ययन गरेर अघि बढाउने प्रक्रिया सुरु भएको हो।
नेपाल धितोपत्र बोर्डले नेप्से, सिडिएस, मर्चेन्ट बैंकर, ब्रोकर, योजना व्यवस्थापक र सूचीकृत कम्पनीहरूका लागि विभिन्न निर्देशन जारी गरेको छ । आज मंगलबार बोर्डको नियमन विभागले यी निर्देशन जारी गरेको हो।
बोर्डले नेपालको पूँजी बजारको विकास तथा सुधारको दिशा दिने गरी लागू गरिएको पूँजी बजार विकास मार्गचित्र, २०८३ एवं चालु आ.व. २०८३/८४ को पूँजी बजार नीति तथा कार्यक्रममा तय भएका नियामकीय सुधार तथा विकास कार्यक्रमको कार्यावन्वयनलाई निरन्तरता दिदैं आएको जनाएको छ। सोही क्रममा बोर्डले धितोपत्रको कारोबारलाई सुदृढ, प्रभावकारी तथा विश्वसनीय बनाउन धितोपत्र बजार र धितोपत्र कारोबारको नियमन तथा अनुगमन गर्ने हेतुले विभिन्न निकायलाई निर्देशन जारी गरेको हो।
जस अनुसार बोर्डले नेप्सेलाई १९ बुँदे, सिडिएसलाई ५ बुँदे, मर्चेन्ट बैंकरलाई ३ बुँदे, ब्रोकरलाई ४ बुँदे, योजना व्यवस्थापाकलाई एक बुँदे र सूचीकृत कम्पनीलाई २ बुँदे गरि कुल ३४ वटा निर्देशन दिएको हो । बोर्डले निर्देशनको विवरण वेबसाइटमा पनि सार्वजनिक गरेको छ।