काठमाडौँः बैंकिङ प्रणालीमा अधिक तरलता थुप्रिएपछि वाणिज्य बैंकहरूबीच सवारीसाधन कर्जा (अटोलोन)को ब्याजदर घटाउने प्रतिस्पर्धा बढेको छ। काठमाडौंको भृकुटीमण्डपमा जारी १८औँ नाडा अटो शो २०२६ मा बैंकहरूले ग्राहक तान्न सस्तो ब्याजदर, कम सेवा शुल्क र सहज कर्जा प्रक्रियासहितका योजना ल्याएका छन्।
मंगलबारदेखि सुरु भएको अटो शोमा विभिन्न बैंक तथा वित्तीय संस्थाले अटो लोनका लागि विशेष योजना ल्याएका छन्। जसमध्ये केही वाणिज्य बैंकले ५ प्रतिशतकै आसपासमा कर्जा दिने योजना सार्वजनिक गरेका छन् भने केहीले आधार दरमा न्यून प्रिमियम थपेर सवारीसाधन कर्जा उपलब्ध गराउने घोषणा गरेका छन्।अटो शोमा एक दर्जन बैंकका स्टलहरु छन्।
बैंकिङ प्रणालीमा कर्जाको माग अपेक्षाअनुसार बढ्न नसकेपछि बैंकहरूसँग लगानीयोग्य रकम बढेको छ। यही कारण नयाँ कर्जा प्रवाह बढाउन बैंकहरूबीच ब्याजदर घटाउने प्रतिस्पर्धा देखिएको हो।
नेपाल राष्ट्र बैंकका अनुसार हालसम्म बैंक तथा वित्तीय संस्थाको १४ खर्ब रुपैयाँ भन्दा बढी अधिक तरलता बैंकिङ प्रणालीमा थुप्रिएको छ।
कर्जा माग बढ्न नसकेपछि बैंकहरुले कर्जाको ब्याजदर घटाइरहेका छन्। भदौमा वाणिज्य बैंकको औषत ब्याजदर ४.१३ प्रतिशत छ।
सस्तो ब्याजदरमा गाडी कर्जा
नाडा अटो शोमा बैंकहरूले विद्युतीय तथा इन्धनबाट चल्ने दुवै प्रकारका सवारीसाधनका लागि कर्जा योजना ल्याएका छन्। अधिकांश बैंकले ब्याजदर ५ देखि ६ प्रतिशतको आसपासमा राखेका छन्।
कृषि विकास बैंकले व्यक्तिगत विद्युतीय सवारीसाधन खरिदमा सवारीको मूल्यको ६० प्रतिशतसम्म र व्यावसायिक सवारीसाधनमा ८० प्रतिशतसम्म कर्जा दिने योजना ल्याएको छ। बैंकले सवारीसाधन कर्जा ५.६६ प्रतिशत ब्याजदरमा उपलब्ध गराउने र ०.५ प्रतिशत सेवा शुल्क लिने जनाएको छ। कर्जाको अवधि ७ वर्षसम्म रहेको छ।
लक्ष्मी सनराइज बैंकले विद्युतीय सवारीसाधनका लागि ५.४९ प्रतिशत ब्याजदरमा कर्जा दिने जनाएको छ। बैंकले ६० प्रतिशतसम्म वित्तीय सुविधा र ०.५ प्रतिशत सेवा शुल्कको व्यवस्था गरेको छ।
नबिल बैंकले विद्युतीय तथा इन्धनबाट चल्ने दुवै प्रकारका सवारीसाधनका लागि विशेष योजना ल्याएको छ। बैंकले विद्युतीय सवारीका लागि ५.४९ प्रतिशत फ्लोटिङ ब्याजदर तथा निश्चित ब्याजदरतर्फ ७ वर्षका लागि ६.९९ प्रतिशतको योजना ल्याएको जनाएको छ।
प्रभु बैंकले ‘प्रभु अटो लोन’ योजनाअन्तर्गत ५.३५ प्रतिशत ब्याजदरमा सवारीसाधन कर्जा उपलब्ध गराएको छ। बैंकका अनुसार यो ब्याजदर साउन महिनाको आधारदरमा ०.५० प्रतिशत प्रिमियम थप गरेर कायम गरिएको हो।
ग्लोबल आइएमई बैंकले ५.१७ प्रतिशतमा कर्जा दिने जनाएको छ । यो अफर अटो शो अवधिभर रहने बैंकले जनाएको छ। यो सेवा बैंकका सबै शाखाबाट पाइने छ। हाल बैंकको आधारदर ४.६७ प्रतिशत छ। यस्तै सेवा शुल्क ०.५ प्रतिशत छ।
त्यस्तै, कुमारी बैंकले ५.२१ प्रतिशत ब्याजदरमा सवारीसाधन कर्जा दिने योजना ल्याएको छ। बैंकले कर्जाको अवधि १० वर्षसम्म राखेको छ भने सेवा शुल्क ०.५ प्रतिशत छ।
नेपाल बैंकले नाडा अटो शो लक्षित विशेष अटो लोन योजना ल्याउँदै आधारदरमा ०.४९ प्रतिशत मात्रै प्रिमियम थपेर कर्जा दिने जनाएको छ। बैंकले प्रशासनिक सेवा शुल्क ०.५ प्रतिशत कायम गरेको छ।
त्यस्तै, राष्ट्रिय वाणिज्य बैंकले आधारदरमा ०.८५ प्रतिशत प्रिमियम थप गरी सवारीसाधन कर्जा उपलब्ध गराइरहेको जनाएको छ।
सोधपुछ गर्नेमध्ये कतिले लिन्छन् कर्जा?
अटो शोमा बैंकका स्टलमा सवारीसाधन कर्जाबारे सोधपुछ गर्ने ग्राहकको संख्या उल्लेख्य छ। तर, स्टलमा नाम टिपाउने सबै ग्राहक वास्तविक ऋणी भने नबन्ने बैंकका कर्मचारीहरू बताउँछन्।
कुमारी बैंकका कर्मचारी रमेश भण्डारीका अनुसार नाडामा आउने अधिकांश ग्राहक गाडी खरिद गर्ने उद्देश्यले आउने भएकाले कर्जा लिने सम्भावना पनि अन्य समयको तुलनामा बढी हुन्छ।
‘अहिले धेरै ग्राहकले कर्जाबारे ‘इन्क्वायरी’ गरिरहनुभएको छ। नाडामा आउनेमध्ये धेरैजसो गाडी खरिद गर्ने मानसिकता बनाएर आउनुभएको हुन्छ। नाम टिपाउनेमध्ये करिब ४० देखि ४५ प्रतिशत ग्राहक पछि बैंकको शाखामा आएर कर्जाको फाइल अगाडि बढाउनुहुन्छ। यो वर्ष ब्याजदर सस्तो भएकाले यो संख्या अझ बढ्ने हाम्रो अनुमान छ,’ भण्डारीले भने।
प्रभु बैंकका दिपेन्द्र श्रेष्ठका अनुसार अटो शोमा सोधपुछ गर्ने ग्राहक धेरै भए पनि सबैको कागजात र आम्दानी कर्जा लिन योग्य हुँदैन।
‘सोधपुछका लागि सयौँ ग्राहक आउनुहुन्छ, तर सबैको कागजात मिल्दैन। नाडा अटो शोमा नाम टिपाउनेमध्ये गम्भीर ग्राहकलाई हामी फलोअप गर्छौँ। करिब १५ देखि २० प्रतिशत ग्राहकले अन्तिममा कर्जा लिएर गाडी खरिद गर्ने गरेको देखिन्छ,’ श्रेष्ठले भने।
कृषि विकास बैंककी कर्मचारी राजिना राईका अनुसार ग्राहकहरू अहिले ब्याजदर र कर्जाका सर्तबारे पहिलेभन्दा बढी सचेत भएका छन्।
‘ग्राहकहरू अहिले बैंक–बैंकबीचको ब्याजदर तुलना गर्नुहुन्छ। हामीले यहाँबाट ग्राहकको विवरण लिएपछि कागजात र आम्दानीको स्रोत जाँच गर्छौँ। सबै कुरा मिलेको अवस्थामा कर्जा लिने सम्भावना हुन्छ। विशेषगरी विद्युतीय सवारीसाधनमा ग्राहकको चासो बढी देखिएको छ,’ राईले भनिन्।
गाडी कर्जा लिन के–के चाहिन्छ?
सवारीसाधन कर्जा लिन व्यक्तिगत ग्राहकले सामान्यतः केही आवश्यक कागजात बैंकमा बुझाउनुपर्छ।
आवेदक र जमानीकर्ताको पासपोर्ट साइजको फोटो, नागरिकताको प्रतिलिपि, पछिल्लो १२ महिनाको बैंक खाता विवरण, सवारीसाधनको कोटेसन तथा आयस्रोत खुल्ने कागजात आवश्यक पर्छ।
त्यस्तै, घरजग्गा वा अपार्टमेन्टको स्वामित्व प्रमाणपत्र, व्यवसाय दर्ता प्रमाणपत्र, प्यान/भ्याट नम्बरलगायतका कागजात पनि बैंकले माग्न सक्छन्।
व्यवसायिक प्रयोजनका लागि कर्जा लिने कम्पनी वा संस्थाले भने प्रबन्धपत्र, नियमावली, सञ्चालक समितिले कर्जा लिने निर्णय गरेको प्रमाण, स्वामित्व तथा सेयरधनीको विवरण, साझेदारी सम्झौता, पछिल्लो दुई वर्षको लेखापरीक्षण भएको आर्थिक विवरण र आगामी तीन वर्षको अनुमानित आर्थिक विवरण पेस गर्नुपर्ने हुन सक्छ।
यसका साथै व्यक्तिगत स्थायी लेखा नम्बर (प्यान) प्रमाणपत्र तथा आवेदकको एकाघर परिवारको नाता प्रमाणपत्रलगायतका कागजात पनि आवश्यक पर्न सक्छन्।
ग्राहकलाई फाइदा, बैंकलाई कर्जा विस्तारको अवसर
अहिले बैंकिङ प्रणालीमा रहेको अधिक तरलताका कारण बैंकहरू नयाँ कर्जा प्रवाह बढाउने दबाबमा छन्। त्यसको प्रत्यक्ष प्रभाव अटो लोनमा देखिएको छ।
नाडा अटो शोमा बैंकहरूले सस्तो ब्याजदर र विभिन्न सहुलियतका योजना ल्याएपछि गाडी खरिद गर्न चाहने ग्राहकले बैंकहरूबीचको ब्याजदर तुलना गर्ने अवसर पाएका छन्।
तर, ग्राहकले कर्जा लिँदा ब्याजदर मात्रै हेर्नु पर्याप्त हुँदैन। फिक्स्ड वा फ्लोटिङ ब्याजदर, आधारदरमा थपिने प्रिमियम, सेवा शुल्क, कर्जाको अवधि, अग्रिम भुक्तानी गर्दा लाग्ने शुल्क र अन्य सर्तसमेत तुलना गरेर मात्रै कर्जा लिनु उचित हुन्छ।
यसरी हेर्दा यस वर्षको नाडा अटो शो गाडी र नयाँ मोडल प्रदर्शन गर्ने ठाउँ मात्रै बनेको छैन, बैंकहरूबीच ‘सस्तो अटो लोन’को प्रतिस्पर्धा गर्ने थलोसमेत बनेको छ।