काठमाडौँ: भारतीय उड्डयन क्षेत्रको सबैभन्दा ठूलो वायुसेवा कम्पनी एयर इन्डियाले गत आर्थिक वर्षमा कीर्तिमानी घाटा व्यहोरेको छ।
ठूलो नोक्सान भएपछि कम्पनीले आफ्नो वित्तीय संकट टार्न लगानीकर्ताहरूसँग १ अर्ब ५० करोड अमेरिकी डलर नयाँ पुँजी माग गरेको छ। एयर इन्डियाले आफ्ना लगानीकर्ता टाटा सन्स र सिङ्गापुर एयरलाइन्सबाट बराबरको नयाँ स्वपुँजी (इक्विटी) जुटाउने प्रयास गरिरहेको रोयटर्सले जानकारी दिएका हो।
सन् २०२२ मा टाटाले सरकारी वायुसेवा कम्पनीको स्वामित्व लिएयता सेयरधनीहरूबाट पुँजी जुटाउन एयर इन्डियाले सार्वजनिक रूपमा गरेको सबैभन्दा ठूलो अनुरोधमध्ये यो एक हुनेछ।
यसले वायुसेवा कम्पनीले सामना गरिरहेका चुनौतीहरूलाई उजागर गर्छ। विशेष गरी अर्बौं डलरको लागतमा भइरहेको यसको व्यापक सुधार तथा विद्यमान जहाजहरूको मर्मत सम्भारलाई असर गर्नेछ।
एयर इन्डिया र यसको किफायती (बजेट) सेवा प्रदायक एकाइ एयर इन्डिया एक्सप्रेस लिमिटेडले गत मार्चमा समाप्त भएको आर्थिक वर्षमा संयुक्त रुपमा कुल २ अर्ब ३३ करोड डलर नोक्सानी बेहोरेका छन्। जुन अघिल्लो वर्षको नोक्सानीको तुलनामा दोब्बरभन्दा बढी हो। यस नोक्सानीले सिङ्गापुर एयरलाइन्सको नाफामा पनि असर पारेको छ।
एयर इन्डिया तत्कालै प्रस्तावित थप पुँजी लगानी चाहन्छ। यद्यपि, यो रकम किस्ताबन्दीमा उपलब्ध गराइने सम्भावना छ। लगानी प्रक्रिया अघि बढाउन सिङ्गापुर एयरलाइन्सले प्रस्तावित लगानीमा आफ्नो हिस्सा योगदान गर्नुपर्ने छ।
टाटा ग्रुप: एयर इन्डियादेखि धेरै बिजनेस घाटामा, उत्तराधिकारी को? सहज छैन अवस्था
“एयर यन्डियाले नयाँ इक्विटीको रूपमा रकम जुटाउने प्रयास गरिरहेको छ। छलफल जारी छ र उक्त अनुरोधबारे कुनै निर्णय भइसकेको छैन” एयरलाइन्स स्रोतले भन्यो।
एयर इन्डिया र टाटा सन्सले रोयटर्सको प्रतिक्रियासम्बन्धी अनुरोधमा कुनै जवाफ दिएनन्।
२५ प्रतिशत स्वामित्व रहेको सिङ्गापुर एयरलाइन्सले एयर इन्डियाको रूपान्तरण कार्यक्रमलाई सघाउन टाटा सन्ससँग नजिक रहेर काम गरिरहेको बताएको छ। तर, एयरलाइन्सको आर्थिक अवस्थाबारे भने कुनै टिप्पणी गर्न अस्वीकार गरेको छ।
सिङ्गापुरपुर एयरलाइन्स अन्योलमा
एयर इन्डियामा थप पुँजी लगानीसम्बन्धी कुनै पनि अनुरोधलाई सिङ्गापुर एयरलाइन्सले सावधानीपूर्वक विचार गर्ने बताएको छ। लगानी रणनीतिका विषयमा सांसदबाट प्रश्नहरू उठिरहेका बेला एयरलाइन्सले यस्तो प्रतिक्रिया दिएको हो।
भारतीय एयरलाइन्सको घाटा बढ्दै गएपछि यसमा गरिएको लगानीबारे प्रश्न उठ्न थालेका छन्। सेयरधनीहरूले एयर इन्डियाको कार्यसम्पादनका विषयमा एयरलाइन्स व्यवस्थापनसँग कडा प्रश्न सोधिरहँदा विपक्षी सांसद केनेथ टियोङले भने सिङ्गापुर एयरलाइन्सले एयर इन्डियामा थप लगानी गर्न टेमासेकबाट रकम जुटाउन नहुने बताएका छन्। सिङ्गापुर सरकारको स्वामित्वमा रहेको लगानी कम्पनी टेमासेक सिङ्गापुर एयरलाइन्सको मुख्य सेयरधनी हो।
टियोङले आगामी सेप्टेम्बर ८ मा संसदमा सिङ्गापुरका यातायात मन्त्री जेफ्री सिओसँग यस विषयमा मौखिक जवाफको माग पनि गरेका छन्।
एयर इन्डियामा थप लगानी गर्ने वा नगर्ने भन्नेबारे अन्तिम निर्णय लिने अधिकार सिङ्गापुर एयरलाइन्सको सञ्चालक समिति (बोर्ड) मै रहनेछ। हालै सम्पन्न वार्षिक साधारण सभामा अध्यक्ष पिटर सिंहले सेयरधनीहरूलाई आश्वस्त पार्दै थप लगानीसम्बन्धी निर्णय व्यवस्थापन पक्षलाई नसुम्पिएको स्पष्ट पारेका छन्।
एयर इन्डियाको पुनरुत्थान प्रयास
पाकिस्तानले भारतीय वायुसेवा कम्पनीहरूमाथि लगाएको हवाई क्षेत्रको प्रतिबन्ध, इरानसँग अमेरिका र इजरायलको द्वन्द्वका कारण अन्तर्राष्ट्रिय उडान सञ्जालमा परेको अवरोध तथा गत वर्ष २६० जनाको ज्यान जाने गरी भएको घातक दुर्घटनाको असरले पनि प्रभावित पारेको छ।
एयर इन्डियाको घाटा लगायतका विषयमा समूहको नियन्त्रण गर्ने परोपकारी ट्रस्टसँग महिनौँसम्म चलेको मतभेदपछि टाटा सन्सका अध्यक्ष नटराजन चन्द्रशेखरन आउँदो फेब्रुअरीमा पदबाट हट्ने तयारी गरिरहँदा कम्पनीले यो आर्थिक सहयोगको माग गरेको हो।
आपूर्ति श्रृङखलामा भइरहने अवरोध तथा एयरलाइन्सका पुराना प्रणाली, कार्यसंस्कृति र विमानहरूमा व्यापक सुधारको आवश्यकतालाई औंल्याउँदै चन्द्रशेखरनले एयर इन्डियाको पुनरुत्थानमा एक दशकसम्मको समय लाग्न सक्ने बताएका छन्।
टाटाले चलाएको एयर इन्डियाको घाटा २ खर्ब २० अर्ब, सिङ्गापुर एयरलाइन्सद्वारा;रेस्क्यु अपरेसन
टाटा समूहले लागत कटौती गर्न र कीर्तिमानी घाटा कम गर्न दबाब दिइरहेका बेला एयर इन्डियाले एयरबस र बोइङबाट अर्डर गरिएका सयौं विमानहरूको डेलिभरी (बुझबुझारथ) पछि सार्ने प्रयास गरेको कुरा रोयटर्सले यस वर्षको सुरुमा जनाएको थियो।आगामी वर्षहरूमा पनि एयर इन्डियालाई थप पुँजीको आवश्यकता पर्ने अपेक्षा गरिएको छ।
अत्यधिक लगानी, सुधारको लक्ष्य भेट्टाउन मुस्किल
उत्तराधिकारी चयनसम्बन्धी बहसको केन्द्रमा रहेको कुनै व्यवसाय छ भने त्यो एयर इन्डिया। सन् २०२२ मा टाटा समूहले एयर इन्डियालाई पुनः आफ्नो स्वामित्वमा लिँदा निजी स्वामित्व, नयाँ पुँजी र व्यावसायिक व्यवस्थापनको संयोजनले भारतको यो पूर्व राष्ट्रिय ध्वजावाहकलाई क्रमशः पुनर्जीवित गर्ने अपेक्षा गरिएको थियो। तर, समय बित्दै जाँदा यसमा निहित चुनौतीको दायरा अझ स्पष्ट हुँदै गएको छ।
एयर इन्डियाको यो स्थितिले चन्द्रशेखरनलाई यो स्वीकार गर्न बाध्य पारेको छ कि कम्पनीको पुनरुत्थानका लागि धेरैले सुरुमा सोचेको छोटो समयभन्दा बढी अर्थात पाँचदेखि १० वर्ष लाग्नेछ। आपूर्ति श्रृङखलामा निरन्तरको अवरोध, पुराना प्रविधि प्रणाली, जहाजको आधुनिकीकरणको आवश्यकता र सञ्चालन क्षमताको पुनर्निर्माणजस्ता कारणले प्रगतिलाई सुस्त बनाएका छ।
एयर इन्डियाको घाटा दुई खर्ब २० अर्ब भारु, नयाँ लगानी खोज्दै टाटा ग्रुप
यस क्षेत्रमा देखिएका चुनौतीहरू केवल आर्थिक घाटामा मात्र सीमित छैन। एयर इन्डियाले विश्वव्यापी उड्डयन क्षेत्रकै सबैभन्दा जटिल एकीकरण प्रक्रियामध्ये एकलाई व्यवस्थापन गर्ने क्रम जारी राखेको छ।
एयर इन्डिया र भिस्ताराको मर्जले विश्वव्यापी महत्वाकांक्षा बोकेको पूर्ण सेवा प्रदान गर्ने वायुसेवा कम्पनी तयार पारेको छ। सँगसँगै एयर इन्डिया एक्सप्रेसलाई समूहको कम लागत (बजेट) सेवा प्रदायकका रूपमा विस्तार गरिँदैछ। सयौं विमानहरू खरिदको प्रक्रियामा छन्।
यद्यपि, सञ्चालनमा एकरूपता र ग्राहक अनुभवका विषयहरू भने निरन्तर निगरानी र समीक्षाको घेरामा छन्। टाटा सन्सका लागि पुँजीको विनाश गर्ने क्षेत्रका रूपमा यस उद्योगमा ठूलो स्तरको सुधार सफलतापूर्वक कार्यान्वयन गर्न सकिन्छ कि सकिँदैन भन्ने कुराको कसी एयर इन्डिया बनेको छ।
आगामी अध्यक्षका लागि समूहभित्र धैर्यताको बाँध टुट्नुअघि नै एयर इन्डियाले नाफा कमाउने विश्वसनीय बाटो देखाउन सुरु गर्न सक्छ कि सक्दैन भन्ने ठूलो चुनौति हुनेछ। चन्द्रशेखरनको कार्यकाल निरन्तरतासम्बन्धी बहसका क्रममा उठाइएका चिन्ताहरूमा एयर इन्डियाको घाटाले प्रमुख स्थान पाउनु कुनै संयोग होइन।