काठमाडौं। रसुवाको भोटेकोसी नदीमा आएको बाढीका कारण हालसम्म १५७ जनाको मृत्यु भएको छ।
नेपाल प्रहरीले दिएको जानकारीअनुसार हालसम्म ३४ महिला, ६३ पुरुष, ६ बालिका, सात बालक र ४७ जनाको पहिचान खुल्न सकेको छैन।
प्रहरीका अनुसार रसुवामा तीन पुरुषको शव भेटिएको छ। नुवाकोटमा ६ महिला र सात पुरुष, धादिङमा १० महिला, १० पुरुष, एक बालिका तथा ६ जना (पहिचान नखुलेको)को शव भेटिएको छ।
गोरखामा दुई महिला, आठ पुरुष, एक बालक र पहिचान नखुलेका आठजनाको शव भेटिएको छ।
प्रहरीका अनुसार चितवनमा १३ महिला, १८ पुरुष, एक बालिका, चार बालक र पहिचान नखुलेका २८ जनाको शव भेटिएको छ।
तनहुँमा एक महिला, पाँच पुरुष, एक बालिका, एक बालक र पहिचान नखुलेका एकजनाको शव भेटिएको छ।
नवलपरासी पूर्वमा दुई महिला, १२ पुरुष, तीन बालिका, एक बालक र पहिचान नखुलेका चारजनाको शव भेटिएको छ।
यता भरतपुर अस्पतालको शवगृह भरिएको छ। शवगृहमा शव नअटाए पछि अब भेटिएका शवलाई औद्योगिक प्रतिष्ठानको कार्यालयमा व्यवस्थापन गर्ने तयारी गरिएको छ।
भोटेकोसी नदीमा आएको बाढीका कारण त्रिशूली र नारायणी नदी किनारमा मात्रै ६४ शव फेला परेका छन्।
भेटिएका शवलाई भरतपुर अस्पतालको शवगृहमा राखिएको जिल्ला प्रहरी कार्यालयमा चितवन प्रमुख प्रहरी उपरीक्षक रामेश्वर पौडेलले जानकारी दिएका छन्।
उनका अनुसार तनहुँमा भेटिएका नौ शव चितवन पठाइएको भए पनि यहाँ राख्ने ठाउँ नभएर पुनःतनहुँ नै फिर्ता गरिएको छ।
जिल्लास्थित तीनवटै सुरक्षा निकायले नदी किनारमा शव खोज्ने काम सुरु गरेका छन्।
विभिन्न प्रहरी कार्यालयका कर्मचारीको अवस्था
इलाका प्रहरी कार्यालय टिमुरेमा कार्यरत २३ जनामध्ये १३ जना सम्पर्कमा आएका छन्। यस्तै, प्रहरी चौकी रसुवागढीमा कार्यरत ९ जनामध्ये १ जना, प्रहरी चौकी स्याफ्रुबेसीका ८ जनामध्ये ५ जना र अस्थायी प्रहरी पोस्ट मैलुङका ८ जनामध्ये ३ जना सम्पर्कमा आएका छन्।
त्यस्तै, प्रहरी चौकी बेत्रावतीमा कार्यरत १० जनामध्ये ९ जना र प्रहरी चौकी हाकुमा कार्यरत ६ जनामध्ये ५ जना सम्पर्कमा आएका छन्।
प्राप्त विवरणअनुसार विभिन्न प्रहरी कार्यालयमा कार्यरत २८ जना प्रहरी कर्मचारी अझै सम्पर्कमा आएका छैनन्।
४१ घाइतेको विभिन्न अस्पतालमा उपचार
बाढीबाट घाइते भएका ४१ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ।
उनीहरूमध्ये त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा २० जना, राष्ट्रिय ट्रमा सेन्टरमा ४ जना, वीर अस्पतालमा ३ जना, वीरेन्द्र सैनिक अस्पतालमा १ जना, ग्रिन सिटी अस्पतालमा १ जना, नर्भिक अस्पतालमा ३ जना र त्रिशूली अस्पतालमा ९ जनाको उपचार भइरहेको प्रहरीले जनाएको छ।