काठमाडौँः भोटेकोशी बाढी प्रभावितको उद्धार तथा राहतका लागि सरकारले सञ्चालन गरेका कोषमा आर्थिक सहयोग पठाउन अब विद्युतीय भुक्तानीको नियमित कारोबार सीमा लागू नहुने भएको छ।
नेपाल राष्ट्र बैंकले बिहीबार भुक्तानीसम्बन्धी सेवा सञ्चालन गर्न अनुमतिपत्रप्राप्त संस्थालाई परिपत्र जारी गर्दै प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषका लागि तोकिएका खातामा रकम पठाउँदा विद्युतीय भुक्तानीको सीमा नलाग्ने व्यवस्था गरेको हो।
यससँगै व्यक्ति तथा संस्थाले मोबाइल बैंकिङ, वेब एप्लिकेसन तथा विद्युतीय मुद्रालगायतका माध्यमबाट तोकिएका राहत कोषमा नियमित कारोबार सीमाभन्दा बढी रकमसमेत पठाउन सक्नेछन्।
हाल मोबाइल बैंकिङमार्फत प्रतिदिन अधिकतम ३ लाख रुपैयाँसम्म रकम स्थानान्तरण गर्न सकिने व्यवस्था छ। त्यस्तै, वेब एप्लिकेसनमार्फत प्रतिदिन २० लाख रुपैयाँसम्म कारोबार गर्न सकिन्छ।
मोबाइल वालेटमार्फत भने प्रतिदिन २ लाख रुपैयाँ र प्रतिमहिना १० लाख रुपैयाँसम्म कारोबार सीमा तोकिएको छ। तर, प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग पठाउँदा यी नियमित सीमाहरू लागू नहुने राष्ट्र बैंकले जनाएको छ।
भोटेकोशी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि सरकारले सहयोग रकम संकलन गरिरहेको अवस्थामा राष्ट्र बैंकले विद्युतीय माध्यमबाट रकम पठाउने प्रक्रियालाई थप सहज बनाउन यस्तो व्यवस्था गरेको हो।