काठमाडौँः हिमालयन रि–इन्स्योरेन्स लिमिटेड नोक्सानमा गएको छ। गत आर्थिक वर्षमा हिमालयन रि–इन्स्योरेन्सले २ अर्ब ३३ करोड ६२ लाख रुपैयाँ खुद नोक्सानी व्यहोरेको छ। अघिल्लो आर्थिक वर्ष २०८१०८२ मा हिमालयनले १ अर्ब ३९ करोड ३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
कम्पनीको आम्दानी घट्नु र खर्चमा उल्लेख्य वृद्धि हुनु नोक्सानीको प्रमुख कारण देखिएको छ। समीक्षा अवधिमा कम्पनीको कुल आम्दानी ९.३७ प्रतिशत घटेर ७ अर्ब ५७ लाख रुपैयाँमा सीमित भएको छ। खर्च भने ८०.९६ प्रतिशतले बढेर १० अर्ब ४४ करोड ८६ लाख रुपैयाँ पुगेको छ।
त्यस्तै, कम्पनीको खुद बीमाशुल्क आर्जन पनि घटेको छ। अघिल्लो आर्थिक वर्षको तुलनामा ५.६९ प्रतिशत कमी आउँदा खुद बीमाशुल्क आर्जन ६ अर्ब १ करोड ५६ लाख रुपैयाँमा झरेको छ।
दाबी भुक्तानीमा आएको उल्लेख्य वृद्धिले पनि कम्पनीको वित्तीय अवस्थामा थप दबाब परेको देखिन्छ। समीक्षा अवधिमा कुल दाबी भुक्तानी ३३.६४ प्रतिशतले बढेर ३ अर्ब ४४ करोड ९० लाख रुपैयाँ पुगेको छ।
गत भदौ २४ मा आगजनीबाट ठूलो क्षति भएको पाँचतारे हिल्टन होटलको ठूलो बीमा दाबी रकम भुक्तानी गर्न बाँकी छ। ओरेन्टल इन्स्योरेन्स लिमिटेड र नेपाल रि–इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो भागमा परेको दाबी भुक्तानी गरिसकेका छन्। हिमायलनले ठूलो रकम दिन बाँकी छ।
यससँगै लगानीबाट हुने आम्दानी पनि २७.३० प्रतिशतले घटेको छ।
नाफा तथा आम्दानीमा आएको गिरावटको प्रभाव कम्पनीको सञ्चित नाफामा समेत परेको छ। आर्थिक वर्षको अन्त्यसम्म कम्पनीको रिटेन्ड अर्निङ ३ अर्ब २८ करोड ६ लाख रुपैयाँ ऋणात्मक भएको छ।
कम्पनीको प्रतिशेयर आम्दानी (ईपीएस) समेत नकारात्मक बनेको छ। अघिल्लो आर्थिक वर्षमा १२ रुपैयाँ ७९ पैसा सकारात्मक रहेको ईपीएस समीक्षा अवधिको अन्त्यसम्ममा २१ रुपैयाँ ५० पैसा ऋणात्मक पुगेको छ।
हाल कम्पनीको चुक्ता पूँजी १० अर्ब ८ करोड ६८ लाख रुपैयाँ रहेको छ। प्रतिशेयर नेटवर्थ ११५ रुपैयाँ ५८ पैसा कायम भएको छ। यसैगरी, अघिल्लो वर्षको तुलनामा कम्पनीको महाविपत्ति कोष पनि २७.०८ प्रतिशतले घटेर १४ करोड ४४ लाख रुपैयाँमा सीमित भएको छ।
समग्रमा, बीमाशुल्क आर्जन र लगानी आम्दानीमा आएको गिरावटसँगै खर्च तथा दाबी भुक्तानीमा भएको तीव्र वृद्धिले हिमालयन रि–इन्स्योरेन्सको वित्तीय प्रदर्शनमा गम्भीर असर परेको देखिएको छ।