२०८३ कार्तिक १६ गते आईतबार

आफन्तको खोजीमा अस्पताल धाउँदै बाढी प्रभावित, ‘सास नभए लास भेट्टाउने आश’

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, भदौ १३
photo-24_36190022-1787917749

काठमाडौं। रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपहिरोपछि आफन्त सम्पर्कविहीन भएका परिवारजन यतिबेला काठमाडौंका विभिन्न अस्पताल धाइरहेका छन्।

बाढीपहिरोपछि नेपाल प्रहरी, नेपाली सेना तथा अन्य सुरक्षा निकायले उद्धार गरी काठमाडौं ल्याएका घाइते तथा शवको विवरण खोज्दै परिवारजन विभिन्न अस्पताल पुगिरहेका हुन्। तर, धेरै परिवारले आफ्ना आफन्तको अवस्थाबारे अझै कुनै जानकारी पाउन सकेका छैनन्।

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, टिचिङ महाराजगञ्जमा पनि सम्पर्कविहीन आफन्तको खोजीमा पुगेका परिवारजनको भीड देखिन्छ। अस्पतालले सार्वजनिक गरेको घाइते तथा उद्धार गरिएका व्यक्तिको नामावलीमा आफन्तको नाम खोज्दै उनीहरू झिनो आशामा बसिरहेका छन्।

सिन्धुपाल्चोकको भोटेकोशी–२ का ३२ वर्षीय श्याम लामिछाने रसुवामा ट्रेकिङ गाइडका रूपमा काम गर्दै आएका थिए। गत भदौ १० गते बिहान बहिनीलाई फोन गरेपछि उनको मोबाइल बन्द भएको र त्यसयता सम्पर्क हुन नसकेको उनकी दिदी दुर्गा लामिछानेले बताइन्।

‘भाइको नाम श्याम लामिछाने, ३२ वर्ष। अहिले ट्रेकिङ गाइडको लागि रसुवा गएको तीन महिना भयो। अस्ति १० गते बिहान ८ बजेर ३८ मिनेटमा बहिनीलाई फोन गर्नुभएको रहेछ। बहिनीले फोन उठाउन पाएनछ। ५–६ मिनेटपछि फोन गर्दा मोबाइल अफ आयो। त्यसपछि अहिलेसम्म सम्पर्कमा आएको छैन,’ उनले भनिन्।

श्यामसँगै काम गर्ने अन्य व्यक्तिहरू पनि सम्पर्कमा नआएको दुर्गाले बताइन्। परिवारले ट्रमा सेन्टर, वीर अस्पताललगायत विभिन्न अस्पतालमा खोजी गरिसकेको भएपनि अहिलेसम्म कुनै जानकारी पाउन सकेको छैन।

‘भर्खरै हामी ट्रमा र वीर अस्पताल पनि गयौँ। त्यहाँ पनि नाम छैन। यहाँ पनि हेरिसक्यौँ, यहाँ पनि छैन। अहिलेसम्म केही पत्ता लागेको छैन। उद्धार गर्नेहरूमा पनि हेरिरहेका छौँ। आफूले बुझेजति, जानेजति ठाउँमा खोजिरहेका छौँ, सम्पर्क गरिरहेका छौँ,’ उनले भनिन्।

आफ्नो भाइको अवस्था थाहा पाउन नसकेपछि दुर्गाले सबैसँग खोजीमा सहयोग गरिदिन अपिल गरेकी छन्।

‘कहीँ कतै देख्नु–भेट्नुभयो भने सम्पर्क गरेर भनिदिनुहोला। सास वा लास भए पनि भेटाउनुभयो भने फोन गरेर भनिदिनुहोला। बुढाबुढी बा–आमा हुनुहुन्छ, साना दुईवटा बच्चाहरू छन्। कसैले देख्नु–भेट्नुभयो भने सम्पर्क गरिदिनुहोला, खोजिदिनुहोला,’ उनले भनिन्।

यस्तै, रसुवाको अपर हाइड्रोपावरमा कार्यरत गुञ्जबहादुर श्रेष्ठ पनि बाढीपछि सम्पर्कविहीन छन्। ड्युटीमा जानुअघि श्रीमतीसँग कुराकानी गरेपछि उनी सम्पर्कमा नआएको उनकी भाउजू पार्वती श्रेष्ठले बताइन्।

उनले भनिन्, ‘ड्युटी जानुभन्दा अगाडि उहाँको मिसेससँग कुरा भएको रहेछ। त्यसपछि चाहिँ सम्पर्कविहीन नै हुनुभयो। हामीले कति खोजिसक्यौँ, कहीँ पनि नाम छैन। सुरक्षा निकायसँग कुरा गर्दा उद्धार गरिरहेका छौँ भनेर मात्रै भन्नुहुन्छ।’

गुञ्जबहादुरसँगै काम गर्ने केही साथीहरू भने सम्पर्कमा आएको पार्वतीले बताइन्।

‘साथीहरू त प्रायः आउनुभइसकेको छ। कोही चाहिँ भाग्ने क्रममा सँगसँगै आएको भन्ने कुरा छ। तर सबैको नाम ठ्याक्कै थाहा छैन,’ उनले भनिन्।

अस्पतालको प्राङ्गणमा भेटिएकी आस्था मगर पनि आफ्ना अंकल र भिनाजुको खोजीमा थिइन्। उनका अनुसार मिना आले मगर र नवराज मगर रसुवागढी हाइड्रोपावरमा काम गर्दै आएका थिए। उनीहरू टिमुरेबाट घट्टेखोलातर्फ रहेको र बाढीपछि सम्पर्कविहीन भएको आस्थाले बताइन्।

अन्तिम पटक भिनाजु नवराजले दिदीलाई फोन गरेको र त्यसपछि दुवै जनाको कुनै जानकारी नआएको आस्थाले बताइन्।

‘लास्ट टाइम मंगलबार साढे ७ बजे दिदीलाई कल आएको थियो रे। त्यसपछि उहाँहरूको केही पनि कन्ट्याक्ट छैन। लास्ट लोकेसन पनि अहिलेसम्म थाहा छैन। अस्पतालमा आएर नेमलिस्ट र फोटोहरू हेर्न भनिएको छ। तर उहाँहरूको नाम अहिलेसम्म लिस्टमा छैन,’ उनले भनिन्।

रसुवाको टिमुरेबाटै २१ वर्षीय वीरबहादुर श्रेष्ठ पनि सम्पर्कविहीन छन्। गाडी चालकका रूपमा काम गर्ने वीरबहादुर बाढी आउनुअघि चीनतर्फ जाने यात्रुलाई लिएर टिमुरे पुगेका थिए।

उनकी आमाका अनुसार भदौ १० गते बिहान साढे ८ बजेसम्म दिदीसँग फोन सम्पर्कमा रहेका वीरबहादुर त्यसपछि सम्पर्कविहीन भएका हुन्।

‘मेरो छोरा वीरबहादुर श्रेष्ठ हो। २१ वर्षको भयो। गाडी लाइनमा काम गर्दथ्यो। त्यो दिन चीन जाने मान्छेलाई गाडी लिएर गएको रहेछ। पुलमा पुगेँ भनेर दिदीलाई फोन गरेको रे। त्यसपछि त्यहाँबाट सम्पर्क हुन सकेन,’ उनले भनिन्।

परिवारले काठमाडौंका विभिन्न अस्पतालमा खोजी गरे पनि अहिलेसम्म वीरबहादुरको नाम घाइते तथा उद्धार गरिएका व्यक्तिको सूचीमा फेला परेको छैन।

यसैबीच, रसुवा, नुवाकोट, गोरखा तथा धादिङमा भदौ १० गते आएको भीषण बाढीपहिरोमा परी घाइते भएका ४८ जनालाई त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, टिचिङ महाराजगञ्जमा ल्याइएको अस्पताल प्रशासनले जनाएको छ।

अस्पतालले शुक्रबार सार्वजनिक गरेको विवरणअनुसार उपचारका क्रममा २५ वर्षीय कुशल मगरको मृत्यु भएको छ भने २१ जना घाइते उपचारपछि डिस्चार्ज भएका छन्।

हाल अस्पतालमा उपचाररत घाइतेमध्ये पेमा तामाङ र राजेन्द्र भट्टको अवस्था गम्भीर छ। उनीहरूलाई भेन्टिलेटरसहित आईसीयूमा राखेर उपचार भइरहेको अस्पतालले जनाएको छ।

यस्तै अशोक श्रेष्ठ, बालबहादुर घर्ती, मिनबहादुर श्रेष्ठ, पवित्रा कार्की र महेश्वर शाहको पनि आईसीयूमा उपचार भइरहेको छ।

अन्य घाइतेहरूको अवस्था हेरी अर्थोपेडिक, पेडियाट्रिक सर्जरी, अब्जर्भेसन तथा आकस्मिक कक्षमा राखेर उपचार भइरहेको अस्पताल प्रशासनले जनाएको छ।

तर, अस्पतालको सूचीमा नाम नभेटिएका आफ्ना आफन्तको खोजीमा रहेका परिवारजनका लागि भने प्रत्येक अस्पतालको ढोका र प्रत्येक नामावली आशाको अन्तिम आधार बनेको छ।

भोटेकोशी बाढीमा सम्पर्कविहीन भएकाहरूको खोजी जारी रहँदा परिवारजनको एउटै प्रश्न छ– ‘हाम्रा आफन्त कहाँ छन् ?’

प्रकाशित: २०८३ भदौ १३ गते शनिवार ०९:१०
प्रतिक्रिया

थप समाचार

रौतहटका तीन अलपत्र आयोजनाको ठेक्का तोडियो, नयाँ प्रक्रियाबाट काम अघि बढाइने

काठमाडौं। रौतहटमा लामो समयदेखि अलपत्र रहेका तीन पूर्वाधार आयोजनाको ठेक्का सम्झौता तोडिएको छ। निर्माणमा पटक–पटक म्याद थप गर्दा पनि काम सम्पन्न हुन नसकेपछि चन्द्रनिगाहपुर–गौर सडकअन्तर्गत...

सरकारको कार्यशैलीमाथि गगन थापाले उठाए प्रश्नै प्रश्न

काठमाडौं। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै लोकतन्त्र, प्रेस स्वतन्त्रता र नागरिकका मौलिक अधिकारमाथि हस्तक्षेप गरेर सुशासन कायम गर्न...

मंसिर १७ देखि काठमाडौंमा नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला आयोजना हुने

काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघको आयोजनामा आगामी मंसिर १७ गतेदेखि काठमाडौंको भृकुटीमण्डपमा नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला आयोजना हुने भएको छ। महासंघले नेपाल सरकारको उद्योग, वाणिज्य...

ऋणको माग सुस्त हुँदा पनि बैंकहरूको नाफा कसरी बढ्यो ४५ प्रतिशत?

कर्जा नोक्सानी व्यवस्थापनका लागि छुट्याउनुपर्ने रकम (प्रोभिजनिङ) घट्नु, कर्जा असूलीमा सुधार आउनु र ब्याज आम्दानी तथा निक्षेपको लागतमा आएको परिवर्तनले नाफा बढाउन सहयोग गरेको देखिन्छ।

एभरेष्ट बैंकको वितरणयोग्य नाफा ३ अर्ब ८७ करोड, खराब कर्जा पनि घट्यो

काठमाडौँः एभरेष्ट बैंक लिमिटेडको चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा खुद नाफा ६.२३ प्रतिशतले बढेर १ अर्ब २५ करोड २७ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा बैंकले १ अर्ब १७ करोड...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना