काठमाडौँः अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बाढी प्रभावित नुवाकोटका विभिन्न क्षेत्रमा पुगेर उद्धार, राहत तथा पुनर्स्थापनाका कामको स्थलगत निरीक्षण गरेका छन्।
शनिबार बिहान विदुर पुगेका अर्थमन्त्री वाग्लेले नेपाली सेनाको नेतृत्वमा सञ्चालित राहत तथा उद्धार कमाण्ड पोस्टमा पुगेर भइरहेको उद्धार तथा राहत कार्यबारे जानकारी लिएका थिए। नेपाली सेनाका उपरथी रञ्जित थापाले हराइरहेका तथा जलविद्युत् आयोजनाका सुरुङमा फसेका नागरिकको उद्धारलाई उच्च प्राथमिकतामा राखेर काम भइरहेको जानकारी गराएका थिए।
सो अवसरमा अर्थमन्त्री वाग्लेले उद्धार, उपचार र पुनर्स्थापनाका लागि सरकारले आवश्यक सबै सहयोग उपलब्ध गराउने प्रतिबद्धता जनाए। उनले स्रोत र साधनको अभाव हुन नदिने भन्दै आवश्यक सहयोगका लागि समयमै जानकारी गराउन सुरक्षाकर्मीलाई आग्रह गरे।
अर्थमन्त्री वाग्लेले नेपाली सेनाको गौथली ब्यारेकस्थित हवाई उद्धार केन्द्र तथा राहत सामग्री सङ्कलन एवं वितरण केन्द्रको पनि निरीक्षण गरेका थिए। उनले उद्धार केन्द्रमा आफ्ना परिवारका सदस्य खोज्दै आएका पीडितसँग भेट गरी उनीहरूका समस्या सुने।
नुवाकोट र रसुवाका विभिन्न जलविद्युत् आयोजनाका सुरुङमा परिवारका सदस्य फसेको भन्दै पीडित परिवारले उद्धारका लागि आग्रह गरेका थिए। जवाफमा अर्थमन्त्री वाग्लेले सुरुङमा फसेकाहरूको उद्धार उच्च प्राथमिकतामा रहेको र नेपाली सेना तथा अन्य सुरक्षाकर्मीले उद्धारका लागि निरन्तर प्रयास गरिरहेको बताएका थिए।
त्यसपछि उनले बाढीबाट ध्वस्त भएको ढुङ्गे बजार र ऐतिहासिक देवीघाट बजारको निरीक्षण गर्दै स्थानीय पीडितसँग भेट गरेका थिए। उनले प्रभावितलाई राहत, उपचार, खोज तथा पुनर्स्थापनामा सरकारले कुनै कमी हुन नदिने आश्वासन दिए।
अर्थमन्त्री वाग्लेले गल्छी–रसुवागढी सडकखण्डअन्तर्गत देवीघाट र जिलिङ जोड्ने क्षतिग्रस्त पुल क्षेत्रको समेत अवलोकन गरेका थिए। उनले तल्लो पिपलटारस्थित आयुर्वेदिक केन्द्र र चन्द्रज्योति स्कुलमा स्थापना गरिएको होल्डिङ सेन्टर पुगेर उद्धार गरिएका नागरिकको अवस्थाबारे जानकारी लिएका थिए।
यसैगरी, अर्थमन्त्री वाग्ले र सञ्चारमन्त्री डा। बिक्रम तिमल्सिनाले नुवाकोटका जनप्रतिनिधि तथा राजनीतिक दलका प्रतिनिधिसँग विपद्पछिको उद्धार, राहत, उपचार र पुनर्स्थापनाका विषयमा छलफल गरेका थिए।
छलफलमा अर्थमन्त्री वाग्लेले केन्द्र सरकारबाट आवश्यक स्रोत र साधनको अभाव हुन नदिइने स्पष्ट पार्दै सबै पक्षलाई एकजुट भएर विपद् प्रतिकार्यमा जुट्न आग्रह गरेका थिए।
दिनको अन्त्यमा अर्थमन्त्री वाग्ले नेपाली सेनाको विदुर कमाण्ड सेन्टर पुगेका थिए। त्यहाँ गृहमन्त्री सुदन गुरुङ, सञ्चारमन्त्री तिमल्सिना तथा नेपाली सेनाका उच्च अधिकारीबाट उद्धार तथा राहत कार्यबारे जानकारी लिएका थिए। हाल जलविद्युत् आयोजनाका सुरुङमा फसेकाहरूको उद्धारलाई उच्च प्राथमिकतामा राखिएको जनाइएको छ भने मृतकको शव सङ्कलन र राहत वितरण कार्यलाई समेत तीव्रता दिइएको छ।