काठमाडौँः नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड (एनआईएमबी)ले रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोजी, उद्धार, राहत तथा पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ४ करोड १ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ।
प्राकृतिक विपद्का कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा, तनहुँ र चितवनलगायत जिल्लामा मानवीय तथा भौतिक क्षति पुगेको र नागरिकको जनजीवन प्रभावित भएको अवस्थामा राहत तथा उद्धार कार्यमा सहयोग पुर्याउने उद्देश्यले उक्त रकम प्रदान गरिएको बैंकले जनाएको छ।
विपद्को यस कठिन घडीमा प्रभावित नागरिकको साथमा रहँदै खोजी, उद्धार, राहत तथा पुनर्स्थापनाका कार्यमा सरकार तथा सम्बन्धित निकायलाई सहयोग पुर्याउने मानवीय अभियानमा बैंकले ऐक्यबद्धता जनाएको जनाएको छ।
बैंकले बाढीमा परी ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गरेको छ। साथै, सम्पर्कविहीन व्यक्तिको सकुशल उद्धार तथा घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।