काठमाडौँः हिमालयन बैंक लिमिटेडको अध्यक्षमा पूर्वमुख्यसचिव डा. बैकुण्ठ अर्याल नियुक्त भएका छन्। बैंकको आइतबार बसेको सञ्चालक समिति बैठकले अर्याललाई अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो।
यसअघि बैंकका अध्यक्ष प्रचण्डमान श्रेष्ठले बुधबार सञ्चालक समिति र उच्च व्यवस्थापनलाई इमेलमार्फत जानकारी गराउँदै पदबाट राजीनामा दिएका थिए। उनको राजीनामापछि रिक्त भएको अध्यक्ष पदमा अर्याललाई नियुक्त गर्ने विषयमा सञ्चालक समितिमा सहमति भएको थियो।
बुधबार भएको प्रारम्भिक सहमतिलाई आइतबार बसेको सञ्चालक समिति बैठकले औपचारिक निर्णय गर्दै मूर्तरूप दिएको हो।
अर्याल नेपाल सरकारको मुख्यसचिवका रूपमा सेवा निवृत्त भएका हुन्। उनले यसअघि अर्थ मन्त्रालयमा सहसचिव तथा उद्योग, सञ्चार तथा सूचना प्रविधि, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा सचिवका रूपमा समेत जिम्मेवारी सम्हालेका थिए।