काठमाडौँः नेपालका लघुवित्तका पिता डा. हरिहरदेव पन्तको स्मृतिमा स्थापित ‘डा. हरिहरदेव पन्त आर्थिक पत्रकारिता पुरस्कार’ यस वर्ष लगानी न्यूज डटकमका सम्पादक आशीष ज्ञवालीलाई प्रदान गरिने भएको छ।
डा. हरिहरदेव पन्त फाउन्डेसनले डा. पन्तको ११औँ वार्षिक पुण्य स्मृति दिवसका अवसरमा भदौ २१ गते आइतबार ज्ञवालीलाई पुरस्कार प्रदान गर्ने जनाएको छ। पुरस्कारको राशि एक लाख रुपैयाँ र सम्मानपत्र रहेको छ।
फाउन्डेसनका अनुसार आर्थिक पत्रकारितामार्फत देशको आर्थिक विकास तथा गरिबी न्यूनीकरणमा योगदान पु¥याउँदै आएका पत्रकार तथा सञ्चार संस्थामध्येबाट ज्ञवालीलाई यस वर्षको पुरस्कारका लागि छनोट गरिएको हो। ज्ञवालीले दुई दशकभन्दा लामो समयदेखि आर्थिक क्षेत्रमा पत्रकारिता गर्दै आएका छन्।
डा. हरिहरदेव पन्तले आफ्नो जीवनको अधिकांश समय आर्थिक विकास तथा गरिबी न्यूनीकरणका लागि समर्पित गरेका थिए। उनको योगदानको स्मरणमा फाउन्डेसनले २०७४ सालदेखि प्रत्येक वर्ष एक जना उत्कृष्ट आर्थिक पत्रकार वा संघसंस्थालाई यो पुरस्कार प्रदान गर्दै आएको छ।
यसअघि नेपाल आर्थिक पत्रकार समाज (सेजन), गोकर्ण अवस्थी, विष्णु बेल्वासे, एलिजा उप्रेती, ममता थापा, विजय राज खनाल, यज्ञ बञ्जाडे, कृष्ण रिजाल र यादव हुमागाईँलाई उक्त पुरस्कार प्रदान गरिएको फाउन्डेसनले जनाएको छ।
पत्रकारिता क्षेत्रमार्फत आर्थिक तथा समग्र विकासमा योगदान पु¥याउने पत्रपत्रिका, रेडियो, टेलिभिजन, अनलाइन समाचार माध्यम तथा पत्रकारलाई सम्मान गर्ने उद्देश्यले पुरस्कार स्थापना गरिएको फाउन्डेसनले जनाएको छ।