काठमाडौँः प्राकृतिक विपद्का कारण चेक, कार्ड, मोबाइल तथा अन्य आवश्यक कागजात गुमाएका ग्राहकलाई बैंकिङ सेवा सहज बनाउन नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ।
राष्ट्र बैंकले इजाजतपत्रप्राप्त ‘क’, ‘ख’, ‘ग’ र ‘घ’ वर्गका बैंक तथा वित्तीय संस्थालाई सूचना जारी गर्दै रसुवा लगायतका जिल्लामा आएको प्राकृतिक विपद्बाट प्रभावित ग्राहकलाई वित्तीय सेवाको पहुँच सुनिश्चित गर्न आवश्यक सहयोग तथा सहजीकरण गर्न भनेको हो।
विपद्का कारण बैंकिङ कारोबारका लागि आवश्यक चेक, कार्ड, मोबाइल तथा अन्य कागजात गुमाएका ग्राहकलाई संस्थामा रहेको हस्ताक्षर नमुना, फोटो तथा ग्राहकसम्बन्धी अन्य विवरणका आधारमा ग्राहकको पहिचान यकिन गरी आवश्यक बैंकिङ सेवा उपलब्ध गराउन राष्ट्र बैंकले आग्रह गरेको छ।
विपद्का कारण प्रभावित नागरिकसँग आवश्यक कागजात नभएको अवस्थामा समेत उपलब्ध अभिलेख तथा विवरणका आधारमा ग्राहक पहिचान गरी बैंकिङ कारोबारमा सहजीकरण गर्नुपर्ने राष्ट्र बैंकको भनाइ छ।
प्राकृतिक विपद्का कारण बैंकिङ सेवाबाट प्रभावित ग्राहकलाई तत्काल वित्तीय पहुँच उपलब्ध गराउने उद्देश्यले यस्तो व्यवस्था गरिएको राष्ट्र बैंकले जनाएको छ।