काठमाडौँः भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकहरूको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि एभरेस्ट बैंक लिमिटेडले ३ करोड ११ लाख रुपैयाँभन्दा बढी आर्थिक सहयोग प्रदान गरेको छ।
बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत तथा कर्मचारीहरूको तर्फबाट संकलन गरिएको रकमसमेत गरी कुल ३ करोड ११ लाख ५४ हजार ६०५ रुपैयाँ ३८ पैसा नेपाल सरकारको ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’मा जम्मा गरेको हो।
यसअन्तर्गत बैंकले २ करोड ५१ लाख रुपैयाँ सहयोग गरेको छ भने बैंकका कर्मचारीहरूको तर्फबाट ६० लाख ५४ हजार ६०५ रुपैयाँ ३८ पैसा संकलन गरी उक्त कोषमा हस्तान्तरण गरिएको बैंकले जनाएको छ।
नगद सहयोगका अतिरिक्त बैंकका कर्मचारीहरूको सक्रियतामा संकलन गरिएका अत्यावश्यक राहत सामग्रीहरू पनि बाढी प्रभावित क्षेत्रमा पठाउन सम्बन्धित निकायलाई प्रत्यक्ष रूपमा हस्तान्तरण गरिएको छ।
विपद्मा परी ज्यान गुमाएकाहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै बैंकले शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेको छ। साथै, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै राहत तथा उद्धार कार्यमा अहोरात्र खटिएका सुरक्षाकर्मी, उद्धारकर्मी, स्थानीय तह तथा सहयोगी संघसंस्थाहरूप्रति बैंकले आभार व्यक्त गरेको छ।
