काठमाडौँ: चार दिने नवौँ नेपाल जग्गा तथा आवास एवं निर्माण प्रदर्शनी आइतबार(आज) समापन हुँदैछ। प्रदर्शनीको अन्तिम दिनसम्म ७० हजारभन्दा बढीले प्रदर्शनी अवलोकन गरेको आयोजकको दाबी छ।

नेपाल जग्गा तथा आवास विकास महासंघका अध्यक्ष विष्णुप्रसाद घिमिरेले आइतबार दिउँसो १२ बजेसम्म ७० हजारभन्दा बढीले प्रदर्शनी अवलोकन गरेको जानकारी दिँदै अपेक्षा गरेभन्दा बढी अवलोकनकर्ता आएको र घरजग्गा खरिदमा समेत उत्साह देखिएको बताए।

उनले भने, ‘एक्स्पो चलेको चार दिन भयो, अब समापन हुँदैछ। तर अपेक्षा गरेभन्दा बढी नै अवलोकनकर्ता पायौं। लगभग सात महिना अगाडि नै हामीले निर्धारित गरिसकेको कार्यक्रम हो। तर यो भदौ १० गते गएको विनाशकारी बाढीले गर्दा एक्सपो नगरौं कि भन्ने थियो तर बाढीलाई नै मध्यनजर गरेर शिक्षामूलक रुपमा आयोजना गर्यौं र सफल भयौं।’

उनका अनुसार हिजो(शनिबार)सम्मको तथ्यांकमा करिब ७० हजारले प्रदर्शनी अवलोकन गरेका थिए। अन्तिम दिन थप २५ देखि ३० हजारले अवलोकन गर्ने अनुमान गरिएको उनले बताए।

घिमिरेले यसपटक विगतका प्रदर्शनीको तुलनामा बिक्रीसमेत बढेको बताए। सस्तो तथा कम लागतका घर र जग्गा खरिदमा सर्वसाधारणको आकर्षण देखिएको उनको भनाइ छ।

उनका अनुसार १ करोड ४० लाख रुपैयाँसम्मका घर एउटै ठाउँबाट ५० वटाभन्दा बढी बिक्री भएका छन्। हिजोसम्म करिब ७० वटा घर बिक्री भएको उनले जानकारी दिए। काठमाडौँ उपत्यकाभन्दा बाहिर चितवन, दाङका, सुनसरीका जग्गाहरू पनि धेरै विक्री भएको उनले बताए।

घिमिरेले यसपटक प्रदर्शनीस्थलमै घर तथा जग्गा खरिदका लागि बुकिङ गर्नेको संख्या बढेको बताए। विगतमा प्रदर्शनीपछि फलोअपमार्फत बिक्री हुने गरेकामा यसपटक प्रदर्शनीस्थलमै खरिद गर्ने क्रम बढेको उनको भनाइ छ।

हाउजिङ तथा घरजग्गा विकासका क्षेत्रमा सक्रिय ग्रान्डी डेभलपर्सका अध्यक्ष दीपक कुँवरले सर्वसाधारणले खरिद गर्न सक्ने ‘एफोर्डेबल’ घरलाई प्राथमिकता दिइएको बताए।

कुँवरका अनुसार टोखा–झोर क्षेत्रमा साढे दुई आनामा दुई तले तीन बेडरुमको घर १ करोड ४० लाख रुपैयाँमा ल्याइएको जानकारी दिए। उक्त घरहरू करिब ८० देखि ८५ प्रतिशत बुकिङ भइसकेको बताए।

ग्राहकका लागि चरणबद्ध भुक्तानीको व्यवस्था गरिएको र लक्ष्मी बैंकले ५.४९ प्रतिशत ब्याजदरमा १०, १५ र २० वर्षसम्मको कर्जा उपलब्ध गराइरहेको उनले जानकारी दिए।

घरजग्गा क्षेत्रको प्रमुख समस्या हदबन्दी रहेको भन्दै कुँवरले यसले ठूलो रकम रोक्का भएको बताए।

उनले भने, ‘साथीहरूको २ खर्बभन्दा बढीको प्रोपर्टी रोक्कामा छ। विक्री गरिएका घरहरू पनि पास हुने अवस्थामा छैन। त्यसकारण उपभोक्ताहरूको विश्वास कमजोर भइरहेको छ।’

हदबन्दीसम्बन्धी समस्या समाधान भए बजारमा ठूलो रकम चलायमान हुने उनको दाबी छ। कुँवरले घरजग्गा क्षेत्र चलायमान हुँदा निर्माणसँग सम्बन्धित रड, सिमेन्टलगायत विभिन्न उद्योगमा समेत सकारात्मक प्रभाव पर्ने बताए।

यस्तै, गृहलक्ष्मी रियल्टी लिमिटेडका जनरल म्यानेजर निरज खड्काले चार दिनको प्रदर्शनीमा आफ्नो स्टलमा दैनिक करिब २०० देखि २५० जनासम्म आएको र १२ देखि १५ वटा बुकिङ भएको बताए।

खड्काका अनुसार मनमैजु रेसिडेन्सीमा २५ लाख रुपैयाँसम्म छुटको व्यवस्था गरिएको थियो भने बनेपास्थित नागीडाँडा ग्रीन हिल्समा चार आनाभन्दा बढी जग्गासहितका घर तीन करोड रुपैयाँमा उपलब्ध गराइएको थियो।

चार दिनसम्म चलेको प्रदर्शनीमा घर तथा जग्गा खरिदबिक्रीसँगै सुरक्षित र व्यवस्थित आवास निर्माणका विषयमा विज्ञ तथा इन्जिनियरबाट जानकारी तथा प्रशिक्षणसमेत दिइएको आयोजकले जनाएको छ।

व्यवसायीहरूले २०७६ सालदेखि लागू भएको जग्गा हदबन्दीसम्बन्धी व्यवस्थाले आफूहरू मर्कामा परेको बताउँदै आएका छन्। हदबन्दीको नियमले कुनै पनि कम्पनीले ३० रोपनीभन्दा बढी जग्गा राख्न नपाउने व्यवस्था गरेको छ। उक्त व्यवस्थाका कारण २०७६ अगाडि जग्गा किनेर अपार्टमेन्ट बनाएका सयौँ कम्पनीले घर बनाएर बिक्रीवितरण गर्न नपाएको व्यवसायीको गुनासो छ।