काठमाडौँः चीनसँगको तातोपानी नाका नियमित सञ्चालन हुन नसक्दा फलफूल आयातको ढुवानी लागत बढेको छ । यसको प्रत्यक्ष असर फलफूलको मूल्य, व्यवसायीको कारोबार र उपभोक्ताको भान्सासम्म परेको छ ।
नेपाल फलफूल थोक व्यवसायी संघका अध्यक्ष अमर बानियाँका अनुसार तातोपानी नाका सहज नहुँदा चीनबाट आउने फलफूल कोराला नाका हुँदै ल्याउनुपर्ने बाध्यता छ । लामो दूरी, कमजोर सडक र हिमपातका कारण ढुवानी महँगो हुँदा व्यवसायीले ठूलो आर्थिक जोखिम व्यहोर्नुपरेको छ ।
उनका अनुसार कोराला नाकाबाट एउटा गाडी सामान ल्याउँदा करिब चार लाख रुपैयाँ ढुवानी खर्च लाग्छ । तर तातोपानी नाका हुँदै ल्याउँदा यही खर्च ५० हजारदेखि एक लाख रुपैयाँसम्म मात्रै पर्ने गरेको छ । ढुवानी खर्चमा भएको यही अन्तरले फलफूलको लागत मूल्यसमेत बढाएको छ ।
‘सयौँ कन्टेनर बाढीमा बगेकाले कन्टेनर पाउनसमेत कठिन छ,’ बानियाँले भने, ‘ढुवानी र सडकको समस्याले साना व्यवसायीले जोखिम लिएर सामान ल्याउन सक्ने अवस्था छैन ।’
यसको असर कारोबारमा पनि देखिएको छ । बानियाँका अनुसार गत वर्षको दशैंको तुलनामा यस वर्ष फलफूलको कारोबार करिब ४० प्रतिशत घटेको छ । स्याउ र सुन्तलालगायतका फलफूल घाटा खाएर बिक्री गर्नुपर्ने अवस्था आएको छ । तिहारमा समेत गत वर्षको तुलनामा कारोबार करिब ६० प्रतिशतमा सीमित हुने उनको अनुमान छ ।
आयातमा समस्या भइरहेका बेला स्वदेशी उत्पादनले पनि मूल्यमा प्रतिस्पर्धा गर्न सकेको छैन । चीनबाट आयातित स्याउ प्रतिकिलो करिब २५० रुपैयाँ थोक मूल्यमा पाइँदा मुस्ताङको फुजी स्याउ ३५० देखि ४०० रुपैयाँसम्म पर्ने गरेको बानियाँले बताए ।
त्यस्तै, आयातित ड्रागन फ्रुटको थोक मूल्य करिब ३०० रुपैयाँ हुँदा नेपाली उत्पादन ४०० देखि ४५० रुपैयाँसम्म पर्ने गरेको छ ।
बानियाँले किसानलाई व्यावसायिक खेतीमा आकर्षित गर्न अनुदान, प्रविधि र बजारको सुनिश्चितता आवश्यक रहेको बताए ।
भन्सार विभागको तथ्यांकअनुसार चालु आर्थिक वर्ष २०८३/८४ को असोजसम्म ४ अर्ब ५० करोड रुपैयाँ बराबरका ४० हजार मेट्रिक टन केरा, स्याउलगायतका फलफूल आयात भएका छन् । गत वर्षको सोही अवधिमा ३ अर्ब ८० करोड रुपैयाँ बराबरका ३८ हजार मेट्रिक टन आयात भएका थिए ।
बानियाँले तातोपानी नाका नियमित सञ्चालन गर्न सरकारसँग माग गरेका छन् । नाका सहज भए ढुवानी लागत घट्ने र त्यसको लाभ उपभोक्ताले समेत पाउने उनको भनाइ छ ।


