काठमाडौँ: महिला उद्यमशीलता विकासका लागि विनाधितो प्रवाह गरिएको सहुलियतपूर्ण कर्जा असुली गर्न राष्ट्रिय वाणिज्य बैंकले देशभरका ऋणीलाई ताकेता गरेको छ । बैंकले लामो समयदेखि साँवा तथा ब्याज भुक्तानी नगर्ने महिला उद्यमी र व्यक्तिगत जमानीकर्ताको नाम सार्वजनिक गर्दै ३५ दिनभित्र बक्यौता चुक्ता गर्न निर्देशन दिएको छ ।
बैंकको कर्जा असुली विभागले कात्तिक २० गते सार्वजनिक सूचना जारी गर्दै सम्बन्धित ऋणी तथा जमानीकर्तालाई आफ्नो खाता रहेको शाखामा उपस्थित भई सम्पूर्ण साँवा, ब्याज, हर्जाना ब्याज र अन्य दस्तुर बुझाउन भनेको हो ।
तोकिएको अवधिभित्र कर्जा चुक्ता नगरे ऋणीसँगै व्यक्तिगत जमानीकर्तामाथि समेत कानुनी प्रक्रिया अघि बढाउने बैंकले चेतावनी दिएको छ ।
बैंकका अनुसार बक्यौता भुक्तानी नभए ऋणी, प्रोप्राइटर तथा व्यक्तिगत जमानीकर्ताको नाम कर्जा सूचना केन्द्रको कालोसूचीमा समावेश गर्न प्रक्रिया अघि बढाइनेछ । साथै प्रचलित कानुनबमोजिम राहदानी रोक्का, बैंक खाता तथा सम्पत्ति रोक्का र आवश्यकताअनुसार निजी सम्पत्ति लिलाम गरी बाँकी रकम असुल गर्ने प्रक्रिया अघि बढाइने सूचनामा उल्लेख छ ।
बैंकले सार्वजनिक गरेको सूचीमा धनकुटा, इटहरी, गाईघाट, उदयपुर, नुवाकोट, धादिङ, हेटौंडा, काठमाडौं, सुर्खेत, घोराही, तुलसीपुर, डडेल्धुरा र धनगढीलगायत विभिन्न शाखाबाट कर्जा लिएका ऋणीहरू छन् ।
सरकारले महिला उद्यमशीलता प्रवद्र्धन, उत्पादनमूलक क्षेत्रमा महिलाको सहभागिता वृद्धि र स्वरोजगार सिर्जना गर्ने उद्देश्यले सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी एकीकृत कार्यविधि, २०७५ लागू गरेको थियो । सोही कार्यक्रमअन्तर्गत राष्ट्रिय वाणिज्य बैंकले महिला उद्यमशीलता विकास कर्जामा लगानी गरेको थियो ।
यस योजनामा कृषि तथा पशुपालन, सिलाइकटाइ, ब्युटीपार्लर, खाजाघर, फलफूल तथा तरकारी व्यापार र डेरीलगायत व्यवसाय सञ्चालनका लागि महिलालाई कर्जा उपलब्ध गराइएको थियो ।
तर, कर्जा भुक्तानीमा समस्या देखिएपछि बैंकले असुली प्रक्रिया तीव्र बनाएको हो । यसले सहुलियतपूर्ण कर्जा प्रवाहसँगै त्यसको सदुपयोग, व्यवसायको निरन्तरता र ऋण असुलीको प्रभावकारी व्यवस्थापनसमेत चुनौतीपूर्ण रहेको देखाएको छ ।
बैंकले ऋणीलाई तोकिएको समयभित्र सम्बन्धित शाखामा सम्पर्क गरी बक्यौता फरफारक गर्न आग्रह गरेको छ ।


