रुपन्देही: गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको घोषणा हुँदा भैरहवाका व्यवसायीले यस क्षेत्रको आर्थिक भविष्य बदलिने अपेक्षा गरेका थिए। लुम्बिनी आउने विदेशी पर्यटक बढ्ने, होटल भरिने, नयाँ उद्योग खुल्ने र भैरहवा अन्तर्राष्ट्रिय व्यापार तथा पर्यटनको केन्द्र बन्ने विश्वासमा निजी क्षेत्रले होटल, रेस्टुरेन्ट र पर्यटन पूर्वाधारमा अर्बौं रुपैयाँ लगानी गर्यो।
तर विमानस्थल बनेको चार वर्ष पुग्न लाग्दा पनि नियमित अन्तर्राष्ट्रिय उडान नहुँदा व्यवसायीको लगानी जोखिममा परेको छ। विमानस्थल सञ्चालनको अनिश्चितताको असर होटल व्यवसायमा मात्र सीमित छैन। बैंकको ऋण तिर्न कठिनाइ, रोजगारीको अनिश्चितता र सुस्ताएको स्थानीय अर्थतन्त्रले समेत यसको मूल्य चुकाइरहेका छन्। विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालन गर्न नसकिएको विषयले अहिले फेरि भैरहवाको पर्यटन तथा आर्थिक क्षेत्रलाई तरंगित बनाएको छ।
सेन्टर फर सोसल इनोभेसन एन्ड फरेन पोलिसीले भैरहवामा आयोजना गरेको ‘गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र लुम्बिनी : पर्यटन कनेक्टिभिटी र आर्थिक समृद्धिको सम्भावना’ विषयक अन्तरक्रियामा सहभागी मन्त्री, पर्यटन व्यवसायी र निजी क्षेत्रका प्रतिनिधिले विमानस्थल सञ्चालनको अनिश्चितताप्रति असन्तुष्टि जनाए। उनीहरूले विमानस्थललाई राजनीतिक भाषणको विषय बनाउनुभन्दा नियमित उडान सञ्चालनका लागि व्यावहारिक योजना ल्याउन सरकारसँग माग गरे।
कार्यक्रममा सेन्टरका कार्यकारी अध्यक्ष विजयकान्त कर्णले पूर्वाधार तयार भए पनि विमानस्थलको व्यावसायिक उपयोग हुन नसक्नु विडम्बना भएको बताए। उनका अनुसार विमानस्थलमा तीन हजार मिटर लामो धावनमार्ग, वार्षिक करिब १० लाख यात्रु धान्न सक्ने टर्मिनल र एकैपटक पाँचवटा अन्तर्राष्ट्रिय जहाज राख्न सक्ने पूर्वाधार छ।
तर छ महिनाभन्दा बढी समयदेखि तालिकाबद्ध अन्तर्राष्ट्रिय उडान नहुँदा पनि संरचना र जनशक्ति तयारी अवस्थामा राख्नुपरेको छ। सयभन्दा बढी कर्मचारीको व्यवस्थापन र वार्षिक आठ करोड रुपैयाँभन्दा बढी सञ्चालन खर्चको दायित्व यथावत् रहेको उनले बताए। ‘विमानस्थल निष्क्रिय हुँदा पनि खर्च रोकिएको छैन। पूर्वाधार तयार छ, तर त्यसको व्यावसायिक उपयोग हुन सकेको छैन,’ कर्णले भने।
विमानस्थल सञ्चालन हुने अपेक्षामा भैरहवा–लुम्बिनी क्षेत्रमा आधा दर्जनभन्दा बढी पाँचतारे होटलसहित दर्जनौँ तारेस्तरका होटल सञ्चालनमा आएका छन्। व्यवसायीले दैनिक आठदेखि १० वटासम्म ठूला जहाज आउने अपेक्षा गरेका थिए। तर नियमित उडान नहुँदा लगानीको प्रतिफल प्राप्त हुन सकेको छैन।
राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. गोविन्द पोखरेलले विमानस्थल र होटल क्षेत्रमा भएको लगानीको प्रतिफल नआउनु गम्भीर आर्थिक समस्या भएको बताए। विमानस्थल सञ्चालनलाई हवाई सेवाको समस्याका रूपमा मात्र नभई समग्र क्षेत्रीय अर्थतन्त्रसँग जोडेर हेर्नुपर्ने उनको भनाइ थियो।
पोखरेलले लुम्बिनी आउने पर्यटकको संख्या र उनीहरूले गर्ने खर्चबीच ठूलो अन्तर रहेको तथ्यसमेत प्रस्तुत गरे। विश्व बैंकको परियोजना मूल्यांकन दस्तावेजलाई उद्धृत गर्दै उनले वार्षिक करिब ११ लाख पर्यटकबाट ४८ हजार रोजगारी सिर्जना भएको बताए। उनका अनुसार प्रत्येक २३ पर्यटक बराबर एउटा रोजगारी सिर्जना भइरहेको छ, जबकि राष्ट्रिय औसत प्रत्येक छ पर्यटक बराबर एउटा रोजगारी रहेको छ।
लुम्बिनी आउने तीर्थयात्रीले दैनिक औसत १५ अमेरिकी डलर मात्रै खर्च गर्ने र अधिकांश पर्यटक केही घण्टा बिताएर फर्किने प्रवृत्ति रहेको पोखरेलले बताए। पर्यटकको संख्या बढाएर मात्रै पर्यटनबाट अपेक्षित आर्थिक लाभ लिन नसकिने भन्दै उनले उनीहरूको बसाइ अवधि र खर्च बढाउनुपर्नेमा जोड दिए।
कर्णका अनुसार गत वर्ष लुम्बिनीमा ११ लाखभन्दा बढी आगन्तुक पुगेका थिए। नेपाली र भारतीय आगन्तुकको संख्या केही घटे पनि नेपाल र भारतबाहेकका मुलुकबाट आउने पर्यटकको संख्या एक चौथाइभन्दा बढीले बढेको थियो। श्रीलंका, थाइल्यान्ड र म्यानमारजस्ता बौद्ध धर्मावलम्बीको बाहुल्य भएका देशबाट पर्यटक आउनु सकारात्मक भए पनि उनीहरूलाई लामो समय नेपालमै राख्न नसक्नु चुनौती बनेको उनको भनाइ थियो।
उडानका लागि पाँचवटा गाँठो
कर्णले विमानस्थल सञ्चालनमा देखिएका समस्यालाई हवाई मार्ग, मौसम तथा प्रविधि, बजार तथा सेवा, संस्थागत संरचना र नीतिगत निरन्तरतासँग जोडेर व्याख्या गरे।
उनका अनुसार नेपाल आउने करिब ९० प्रतिशत अन्तर्राष्ट्रिय उडान पूर्वको सिमरा प्रवेशमार्ग हुँदै भित्रिने गरेका छन्। पश्चिमबाट आउने जहाजले भैरहवा पुग्न करिब ३०० किलोमिटर अतिरिक्त दूरी पार गर्नुपर्ने अवस्था छ। नेपालले सन् २००९ देखि थप हवाई प्रवेशमार्गको माग गर्दै आए पनि ठोस निर्णय हुन सकेको छैन। यसले विमान कम्पनीको इन्धन खर्च र सञ्चालन लागत बढाएको छ।
त्यस्तै, विमानस्थलमा जडान गरिएका उपकरण र आवश्यक प्राविधिक व्यवस्थापन प्रभावकारी बनाउन भारतीय भूभागसँग जोडिएका विषयमा सहमति आवश्यक रहेको उनले बताए। टिकट बिक्री गर्ने एजेन्सी र जनरल सेल्स एजेन्ट काठमाडौं केन्द्रित हुनु, वैदेशिक रोजगारीमा जाने यात्रुका लागि आवश्यक स्वास्थ्य परीक्षण, भिसा र श्रम स्वीकृतिसम्बन्धी सेवा भैरहवामा उपलब्ध नहुनु तथा विदेशी बजारमा लुम्बिनीको प्रचार कमजोर हुनु पनि विमानस्थलको व्यावसायिक सञ्चालनका बाधक रहेको उनको विश्लेषण थियो।
नागरिक उड्डयन प्राधिकरण नियामक र सञ्चालक दुवै भूमिकामा रहनु तथा हवाई क्षेत्र सुधारसम्बन्धी नीतिगत निर्णय कार्यान्वयनमा ढिलाइ हुनु पनि समस्याका कारण रहेको उनले औँल्याए। विमानस्थल सञ्चालनका लागि राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम, चार्टर उडान र कार्गो सेवा विस्तार गर्नुपर्ने उनको सुझाव छ। साथै श्रीलंका, थाइल्यान्ड, म्यानमार र भियतनामजस्ता बौद्ध मुलुकका बजारसँग लुम्बिनीलाई जोड्नुपर्ने उनले बताए।
‘राज्यको आश्वासनमा लगानी गर्यौँ, अहिले संकटमा छौँ’
नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष ठाकुरकुमार श्रेष्ठले विमानस्थल निर्माणको आश्वासनमा निजी क्षेत्रले ठूलो लगानी गरेको बताए। विमानस्थल सञ्चालन हुने विश्वासमा लगानी गरेका व्यवसायी अहिले संकटमा परेको उनको भनाइ थियो।
‘यदि यो विमानस्थल नबनेको भए निजी क्षेत्रले यति धेरै लगानी गरेर जोखिम मोल्ने थिएन। राज्यले आश्वासन दिएर लगानी गर्न लगायो, तर अहिले व्यवसायीलाई संकटमा छाडिएको अनुभूति भएको छ,’ श्रेष्ठले भने।
सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष नेत्रप्रसाद आचार्यले विमानस्थल सञ्चालनका लागि पटक–पटक छलफल र आन्दोलन गर्दा पनि सरकारले चासो नदेखाएको गुनासो गरे। नेपाल वायुसेवा निगमलाई भैरहवाबाट नियमित उडान गर्न बाध्य पार्ने वा कूटनीतिक पहलमार्फत अन्तर्राष्ट्रिय उडान सुरु गर्नुपर्ने उनले बताए।
चेम्बर अफ कमर्स रुपन्देहीका अध्यक्ष सचिन रोक्काले विमानस्थल नियमित सञ्चालन नभएसम्म लुम्बिनी प्रदेश र रुपन्देहीको आर्थिक विकासले अपेक्षित गति लिन नसक्ने बताए। पर्यटन क्षेत्रमा निजी क्षेत्रको अर्बौं रुपैयाँ लगानी जोखिममा पर्दासमेत सरकार गम्भीर नदेखिएको उनको गुनासो थियो।
विमानस्थलसँगै पर्यटनको मोडल बदल्नुपर्ने
लुम्बिनी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रजीत थारुले विमानस्थल निर्माणको मूल उद्देश्य लुम्बिनीलाई विश्वस्तरको धार्मिक तथा दार्शनिक केन्द्रका रूपमा विकास गर्नु रहेको बताए। विमानस्थल संघीय सरकारको क्षेत्राधिकारमा पर्ने भएकाले यसको सञ्चालनका लागि केन्द्र सरकारले परिणाममुखी पहल गर्नुपर्ने उनको भनाइ थियो।
शहरी विकास, ऊर्जा, सिँचाइ तथा खानेपानीमन्त्री सन्तोषकुमार पाण्डेले लुम्बिनीलाई भारतको बनारसजस्तै अन्तर्राष्ट्रिय आध्यात्मिक गन्तव्यका रूपमा विकास गर्नुपर्ने बताए। त्यसका लागि विमानस्थल सञ्चालनमा संघीय सरकारले विशेष नीतिगत व्यवस्था गर्नुपर्ने उनले बताए।
कार्यक्रममा सहभागीहरूले लुम्बिनी, तिलौराकोट, देवदह र रामग्रामलाई एउटै पर्यटकीय सर्किटमा जोडेर पर्यटकको बसाइ र खर्च बढाउनुपर्नेमा जोड दिए। कर्णले विश्व बैंकले ग्रेटर लुम्बिनी क्षेत्र विकास आयोजनाका लागि ८ करोड ५० लाख अमेरिकी डलर सहयोग स्वीकृत गरेको जानकारी दिँदै लुम्बिनीलाई बौद्ध दर्शन, ध्यान, शान्ति अध्ययन र अनुसन्धानको अन्तर्राष्ट्रिय केन्द्रका रूपमा विकास गर्नुपर्ने बताए।
उनका अनुसार नेपाल वायुसेवा निगमले जाडो उडान तालिकामा एउटा जहाज भैरहवामा आधार बनाएर सञ्चालन गर्ने तयारी गरेको छ। सरकारले थप वायुसेवा आकर्षित गर्न कूटनीतिक पहल गर्ने नीति लिएको पनि उनले बताए।
तर यी योजना कहिले कार्यान्वयन हुन्छन् भन्ने प्रश्न अझै अनुत्तरित छ। भैरहवामा अन्तर्राष्ट्रिय विमानस्थल, लुम्बिनीमा विश्वभरका बौद्ध धर्मावलम्बीको आस्था र पर्यटन क्षेत्रमा निजी क्षेत्रको लगानी हुँदाहुँदै पनि नियमित उडान र स्पष्ट सरकारी कार्ययोजनाको अभाव छ। गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन गर्नु भैरहवाको मात्रै माग नभई लुम्बिनीको पर्यटन र समग्र राष्ट्रिय अर्थतन्त्रसँग जोडिएको विषय बनेको छ। –नेपाल न्युज बैंक


