काठमाडौँः नेपाल स्टक एक्सचेन्ज (नेप्से) का नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रताप सुवेदीले पुँजी बजार सुधार र लगानीकर्ताको विश्वास अभिवृद्धिलाई प्राथमिकतामा राख्दै विभिन्न योजना अघि सारेका छन् । उनले नेप्सेको कारोबार प्रणालीलाई आधुनिक बनाउनेदेखि नयाँ वित्तीय उपकरण भित्र्याउनेसम्मका विषयलाई प्राथमिकतामा राखेका हुन् ।
शुक्रबार पदभार ग्रहण गरेका सुवेदीले आफ्नो पहिलो निर्णयका रूपमा लगानीकर्ताको वित्तीय साक्षरता अभिवृद्धि गर्न ‘भिजिट नेप्से’ र ‘नेप्से विथ इन्भेस्टर’ कार्यक्रम सञ्चालन गर्ने घोषणा गरेका छन् । यी कार्यक्रम प्रत्येक महिना एकपटक सञ्चालन गरिने उनले बताएका छन् ।
नेपाल धितोपत्र बोर्डको निर्देशनअनुसार वित्तीय साक्षरतासम्बन्धी कार्यक्रम सञ्चालन गर्न लागिएको उनको भनाइ छ ।
सुवेदीले नेप्सेको सूचना प्रविधि तथा सफ्टवेयर प्रणाली स्तरोन्नति गरी कारोबारलाई थप सुरक्षित, भरपर्दो र व्यवस्थित बनाउने योजना अघि सारेका छन् । लगानीकर्ताको हित संरक्षण, संस्थागत सुशासन र बजारप्रतिको विश्वास बढाउन आवश्यक सुधार गरिने उनले बताएका छन् ।
त्यस्तै, नेपालको पुँजी बजारमा नयाँ कारोबारका उपकरण थप गर्ने विषयलाई पनि उनले प्राथमिकतामा राखेका छन् । अन्तरदिवसीय कारोबार (इन्ट्राडे), सर्ट सेलिङ तथा साना तथा मझौला उद्यम (एसएमई) का लागि छुट्टै कारोबार प्रणाली सञ्चालन गर्ने सम्भावनाबारे अध्ययन गरिने उनले जानकारी दिएका छन् ।
सरकार तथा अर्थ मन्त्रालयले तयार पारेको नेप्से पुनर्संरचनासम्बन्धी मार्गचित्रअनुसार संस्थाको संरचनागत सुधारलाई समेत अघि बढाउने उनको योजना छ ।
पुँजी बजारमा हुने कृत्रिम कारोबार, बिचौलियाको प्रवेश तथा अवैध धनको कारोबार नियन्त्रणमा कडाइ गर्ने प्रतिबद्धता पनि सुवेदीले व्यक्त गरेका छन् । सम्पत्ति शुद्धीकरण निवारण तथा आतंकवादी गतिविधिमा वित्तीय लगानी नियन्त्रणसम्बन्धी मापदण्ड कार्यान्वयनमा सम्बन्धित निकायसँग समन्वय गरिने उनले बताएका छन् ।
साइबर सुरक्षाको चुनौतीलाई ध्यानमा राख्दै लगानीकर्ताको लगानी र व्यक्तिगत तथ्यांक सुरक्षित राख्न आवश्यक व्यवस्था मिलाउने उनको भनाइ छ ।
बैंकिङ क्षेत्रमा तीन दशकभन्दा लामो अनुभव हासिल गरेका सुवेदीले नेपाल राष्ट्र बैंकबाट व्यावसायिक यात्रा सुरु गरेका थिए । त्यसपछि कर्मचारी सञ्चय कोष र कृषि विकास बैंकमा विभिन्न जिम्मेवारी सम्हालेका उनले प्रमुख कर्जा अधिकृत, उपमहाप्रबन्धक तथा प्रमुख सञ्चालन अधिकृतका रूपमा काम गरेका थिए ।
सुवेदीले नेको इन्स्योरेन्स, साना किसान विकास लघुवित्त र डिप्रोक्स लघुवित्तलगायत संस्थामा सञ्चालक तथा फन्ड म्यानेजमेन्ट कम्पनीको अध्यक्षका रूपमा समेत काम गरिसकेका छन् ।
नेप्सेको प्रतिस्पर्धीका रूपमा अर्को स्टक एक्सचेन्ज आवश्यक नरहेको धारणा राख्दै उनले विद्यमान नेप्सेलाई नै संस्थागत रूपमा सबल बनाएर बजारको आवश्यकता पूरा गर्न सकिने विश्वास व्यक्त गरेका छन् ।


