बीबीसी। अमेरिकामा एक रिपब्लिकन सांसदले यस साता तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्समा रक्षामन्त्री पिट हेग्सेथविरुद्ध महाभियोग प्रस्तावमा मतदान गराउने योजना बनाएका छन्। उनले हेग्सेथले अमेरिकी संविधानको उल्लघंन गरेको आरोप लगाएका छन्।
सत्तारुढ दलका सांसद थोमस मासीले भने, संसद्को अनुमतिबिना इरानमा ९० दिनभन्दा बढी समयसम्म शत्रुतापूर्ण गतिविधिमा संलग्न भएर रक्षामन्त्री हेग्सेथले कानुन तोडेका छन्। त्यसैले उनलाई जबाफदेही बनाइनुपर्छ।
जनवरीसम्म संसदमा रिपब्लिकनहरूकै नियन्त्रण रहने भएकाले उक्त प्रयास असफल हुने सम्भावना छ।
तर मासीका अनुसार यस प्रयासको उद्देश्य राष्ट्रपति डोनाल्ड ट्रम्पलाई दबाव दिनु रहेको छ।
त्यसको उद्देश्य डेमोक्र्याटहरूले आफ्नै तर्फबाट महाभियोग प्रक्रिया सुरु गर्नु अगावै ट्रम्पले हेग्सेथलाई पदबाट हटाऊन् भन्ने रहेको उनको भनाइ छ।
हेग्सेथ के भन्छन्?
हेग्सेथले यस महाभियोग प्रयासलाई ढोँग भन्दै खारेज गरेका छन् र आफ्नो कामको बचाउ गरेका छन्।
गत हप्ता जारी एक भिडियो सन्देशमा उनले भनेका थिए, उनीहरू ममाथि आक्रमण गरिरहेका छन्। उनीहरू हामीमाथि आक्रमण गर्दैछन् किनभने हामी प्रभावकारी छौँ। यो प्रयास सफल हुने छैन। हामी पछि हट्ने छैनौँ।
उनले मासीलाई असन्तुष्ट र पराजित सांसदको संज्ञा दिए र आफूलाई यस महाभियोग प्रयासको कुनै चिन्ता नभएको बताए।
जारी भिडियोमा हेग्सेथले मन्त्रालयमा आफ्नो नेतृत्वको बचाउ गरे र ट्रम्पको अमेरिका पहिलो भन्ने मुद्दालाई आफूले कसरी कार्यान्वयन गरेको छु भन्ने कुराहरू उल्लेख गरे।
अमेरिकामा ट्रम्पको पार्टी पराजित, अब दुवै सदन डेमोक्र्याटहरूको नियन्त्रणमा
अमेरिकामा डेमोक्र्याट्सको विजयोत्सव
सोमवार दिउँसो तल्लो सदनमा मासीले औपचारिक रूपमा महाभियोगसम्बन्धी प्रस्ताव पेस गरेका छन्।
यस कदमसँगै सदनमा उक्त प्रस्तावमाथि कारबाही अघि बढाउन ४८ घण्टाको समय सीमा सुरु भएको छ।
सांसदहरूले यस प्रस्तावमाथि सिधै मतदान गर्न, यसलाई समितिमा पठाउने निर्णय गर्न वा यसलाई खारेज गर्न सक्छन्।
प्रस्ताव पेस गरेपछि पत्रकारहरूसँग कुरा गर्दै मासीले भने, म यो काम गरिरहेको छु किनभने यो सही कदम हो।
के का लागि महाभियोग?
यस वर्षको सुरुमा भएको चुनाव हारेका मासीले करिब नौ महिना अघिदेखि नै ट्रम्प र इरान युद्धको आलोचना गर्दै आएका छन्।
उनले यसअघि ट्रम्प प्रशासनलाई मृतक यौन अपराधी जेफ्री एप्स्टीनसँग सम्बन्धित फाइलहरू सार्वजनिक गर्न माग गर्दै समाचारहरूमा छाएका थिए।
केन्टकीका यी सांसदले पहिलो पटक सेप्टेम्बरमा महाभियोगसम्बन्धी धाराहरू बिउँताएका थिए र यतिखेर गत हप्ताको मध्यावधि चुनावमा रिपब्लिकनहरूले हाउस र सिनेट दुवैको नियन्त्रण गुमाएपछि ती फिर्ता गरेका छन्।
उनले यो प्रयास अर्को वर्ष डेमोक्र्याटहरूको नियन्त्रणमा रहने कङ्ग्रेसमा देखिन सक्ने तमासा रोक्नको लागि गरिएको बताएका छन्।
उनले ट्रम्पलाई अर्को नाम अघि सार्न बाध्य पार्ने आशा व्यक्त गरेका छन् जुन रिपब्लिकनहरू शक्तिमा छँदै गर्दा त्यसलाई अनुमोदन गर्न सक्नेछन्।
मन्त्री हेग्सेथलाई महाभियोग लगाउने मेरो प्रयास अर्को वर्ष डेमोक्र्याटहरूले हाउस र सिनेटको नियन्त्रण लिँदा हुने कुराको सौम्य रूप हो मासीले एक विज्ञप्तिमा भने। उनीहरूले सुनुवाइ र मुद्दा चलाउनेछन्।
डेमोक्र्याटिक नेतृत्वले जनवरीमा नियन्त्रण लिएपछि हेग्सेथविरुद्ध यस्तो प्रयास हुने खुलस्त संकेत गरेका छन्।
सोमवारको प्रयासको बारेमा सोध्दा हेग्सेथले भने, हामी त्यसबारे चिन्तित छैनौँ।
उनले यस विषयमा छलफल गर्न मङ्गलवार पत्रकार सम्मेलन गर्ने योजना बनाएको बताए।
राष्ट्रपति ट्रम्पले भने यस वर्षको सुरुमा भेनेजुएलाका राष्ट्रपति निकोलास मदुरोलाई अमेरिकाले पक्राउ गर्दा हेग्सेथको नेतृत्वको प्रशंसा गर्दै र इरानमा युद्धको समयमा उनको कामको बचाउ गर्दै उनीसँगै रहने संकेत दिएका छन्।


