काठमाडौँ: नेपाल–जापान कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औँ वार्षिकोत्सवका अवसरमा आगामी मंसिर ६ गते आइतबार काठमाडौँको दरबारमार्गमा आयोजना हुने ‘नेपाल–जापान फेस्टिभल २०२६’ को सम्पूर्ण तयारी पूरा भएको छ।
नेपाल–जापान महोत्सव आयोजक समितिको आयोजना तथा नेपालस्थित जापानी राजदूतावास र काठमाडौँ महानगरपालिकाको सहआयोजनामा हुन लागेको महोत्सवले नेपाल र जापानबीचको सात दशक लामो मित्रता, सांस्कृतिक सम्बन्ध र आपसी सहकार्यलाई थप प्रगाढ बनाउने अपेक्षा गरिएको छ।
महोत्सवको प्रमुख आकर्षणका रूपमा जापानको चर्चित सांगीतिक समूह **गोडाइगो (Godiego)** को विशेष प्रस्तुति रहनेछ। सन् १९८० मा काठमाडौँको दशरथ रंगशालामा ऐतिहासिक सांगीतिक प्रस्तुति दिएको गोडाइगो ४६ वर्षपछि पुनः नेपाल फर्किन लागेको हो। गोडाइगोको पुनरागमनले नेपाली संगीतप्रेमीलाई पुराना सांगीतिक सम्झना ताजा गराउने अपेक्षा गरिएको छ।
त्यस्तै, जापानका चर्चित हिपहप कलाकार **मम्मी–डी (Mummy-D)** सहित कववेभ, कुटुम्ब तथा सविन राई एण्ड द फराहो नेपाली ब्यान्डले पनि महोत्सवमा विशेष सांगीतिक प्रस्तुति दिनेछन्। नेपाली र जापानी कलाकारको संयुक्त सहभागिताले महोत्सवलाई दुई देशका संगीत तथा संस्कृतिको साझा उत्सवका रूपमा प्रस्तुत गर्नेछ।
महोत्सवले सांस्कृतिक आदानप्रदानसँगै मानवीय सहयोगको सन्देशसमेत प्रवाह गर्नेछ। भोटेकोशी नदी क्षेत्रमा आएको बाढीबाट प्रभावित नागरिकको सहयोगार्थ गोडाइगोले जापानमा आयोजित आफ्नो सांगीतिक यात्राको ५०औँ वार्षिकोत्सव कार्यक्रममा संकलन गरेको रकममध्ये करिब ३० लाख रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उपलब्ध गराउने भएको छ।
सन् १९५६ मा कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नेपाल र जापानबीच शिक्षा, संस्कृति, पर्यटन तथा व्यापारलगायतका क्षेत्रमा निरन्तर सहकार्य हुँदै आएको छ। महोत्सवले दुई देशबीचको ऐतिहासिक मित्रतालाई नयाँ पुस्तासम्म विस्तार गर्नुका साथै नेपालको पर्यटन प्रवर्द्धन र सांस्कृतिक आदानप्रदानमा समेत योगदान पुर्याउने आयोजकको विश्वास छ।
महोत्सवमा नेपाली तथा जापानी कला, संस्कृति, संगीत र परम्परासँग सम्बन्धित विभिन्न गतिविधि सञ्चालन गरिनेछन्। आयोजकका अनुसार महोत्सवमा सर्वसाधारणका लागि प्रवेश निःशुल्क रहनेछ।
नेपाल र जापानबीचको मित्रता, सांस्कृतिक विविधता र आपसी सद्भावलाई एउटै मञ्चमा जोड्ने लक्ष्यसहित आयोजना हुन लागेको फेस्टिभलमा सहभागी हुन आयोजकले सम्पूर्ण नेपाली तथा जापानी समुदायलाई आमन्त्रण गरेको छ।

