रोम- इटाली भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ इटालीको स्टाडियो ओलम्पिको रंगशालाको अवलोकन गरेका छन्। ७० हजार दर्शक क्षमताको यो रंगशाला इटालियन सिरी ए का दुई क्लब रोमा र लाजियोको घरेलु मैदान हो।
अवलोकनका क्रममा प्रधानमन्त्रीले रङ्गशालाबारे अभिरुचिपूर्वक जिज्ञासा राखेका थिए। प्रधानमन्त्री दाहालले खेलाडी आउने जाने मार्ग, प्यारापिट, खेलपछि आयोजना गरिने पत्रकार सम्मेलन कक्ष, रङ्गशाला सञ्चालका क्रममा प्रयोग गरिने सबै क्षेत्रको अवलोकन गरेका थिए।
रङ्गशालामा प्रदर्शनीमा राखिएको इटालीले प्राप्त गरेको पहिलो शिल्ड, खेलाडीका जर्सीलगायतको अवलोकन गरेका थिए। प्रधानमन्त्री दाहाललाई रङ्गशालाका अधिकारीहरुले सम्पूर्ण जानकारी गराएका थिए। उक्त रङ्गशाला सन् १९६० देखि सञ्चालनमा आएको हो। सो रङ्गशालामा विशेष गरी फुटबल, रग्बी र एथलेटिक्सका खेलहरु हुने अधिकारीहरुले जानकारी दिएका थिए।
साउन ८ देखि १० गतेसम्म आयोजना भएको संयुक्त राष्ट्रसंघीय खाद्य प्रणाली शिखर सम्मेलनमा भाग लिन उनी शनिबार साँझ इटाली प्रस्थान गरेका थिए।
प्रधानमन्त्रीसँग कृषि तथा पशुपंक्षी विकासमन्त्री डा. वेदुराम भुसाल, राष्ट्रिय योजना आयोगका सदस्य डा. जयकान्त राउत तथा प्रधानमन्त्रीपुत्री गंगा दाहाल पनि इटली गएका छन्।
बुधबार प्रधानमन्त्री स्वदेश फर्कनेछन्।












सबै फोटोः प्रदीपराज वन्त


