काठमाडौँ- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय चाबहिलका तत्कालीन नापी अधिकृत राजु पुरीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ। पुरीविरुद्ध १ करोड ४ लाख रुपैयाँ भ्रष्टाचार गरेको आरोप लगाउँदै बिगो अनुसारको जरिमाना र कैद सजायको माग गर्दै अख्तियारले मुद्दा दायर गरेको हो।
पुरीसँग २ करोड २४ लाख ८१ हजार ६९० रुपैयाँको सम्पत्ति देखिएको छ। योमध्ये १ करोड २० लाख ७७ सय ७४८ रुपैयाँको मात्रै वैधानिक स्रोत पुष्टि भएको छ। बाँकी रकम अवैध देखिएको भन्दै मुद्दा दायर गरिएको हो।
भ्रष्टाचार गरी आर्जन गरेको रकम पुरीले श्रीमती श्रृजना गिरीको नाममा राखेका थिए। उक्त सबै सम्पत्ति जफत गर्नका लागि श्रृजना गिरीलाई पनि प्रतिवादी कायम गरिएको अख्तियारका प्रवक्ता भोला दाहालले जानकारी दिए।
पुरी २०५२ साल पुस ९ गते सरकारी सेवामा प्रवेश गरेका थिए। २०७९ असार मसान्तसम्मको सेवामा रहेका उनको ‘वैधानिक स्रोत खुल्न आएको नदेखिएको हुँदा निज राजु पुरीले सार्वजनिक सेवाको पदमा बहाल रहँदा आफ्नो पदीय हैसियतको दुरुपयोग गरी गैरकानूनी सम्पत्ति आर्जन गर्नुका साथै अमिल्दो र अस्वाभाविक उच्च जीवनस्तर यापन गरेको पुष्टि हुन आएको अख्तियारको दाबी छ।


