काठमाडौँ- अर्थमन्त्री डा. प्रकाशशरण महतले एकाउन्टिङ र अडिटिङ सुशासनसँग जोडिएको बताएका छन्। नेपाल अडिटर्स एसोसिएसन (अडान)को १८औं स्थापना दिवसमा बोल्दै मन्त्री डा. महतले पारदर्शिता सुनिश्चिता गर्न एकाउन्टिङ र अडिटिङको महत्वपूर्ण भूमिका रहने र रहिरहने बताएका हुन्।
‘हरेक क्षेत्रमा हिसाबकिताब चुस्त दुरुस्त राख्ने र हिसाब किताब चुस्त दुरुस्त छ कि छैन भनेर त्यसलाई हेर्ने जिम्मेवारी अडिटरहरुको हुन्छ,’ उनले भनेका थिए।
बजेट र मौद्रिक नीतिले थुप्रै समस्या समाधान गरेको उनको दाबी थियो। ‘अर्थतन्त्रमा समस्या थियो, अझै केही समस्या छन्। त्यसको सम्पूर्ण समाधान मौद्रिक नीति मात्र होइन। मौद्रिक नीतिमा हामीले खुकुलोपन र सहजता खोजेका थियौं, केही सम्बोधन भएको छ। उद्योग व्यवसायी साथीहरुले खोजेजस्तो अवश्य भएको छैन’ अर्थमन्त्री डा. महतले भने, ‘वर्किङ क्यापिटलका बारेमा साथीहरुले चाँडै निर्देशिका ल्याउँछौं भन्नुभएको छ, त्यो आएपछि थप सहज हुनेछ।’
मन्त्री डा. महतले पूँजीगत खर्च धेरै नभएपनि विनियोजित बजेटलाई खर्च गर्न सके अर्थतन्त्रमा तरलता बढाउने र समग्र गतिविधिले लय लिने उनको भनाइ थियो। मौद्रिक नीति र वित्तीय नीतिमार्फत् अर्थतन्त्रमा तरलता बढाउने, लगानी वृद्धि गर्ने काममा सरकार क्रियाशील रहेको उनको जिकिर छ।
‘कोभिडको समयमा लामो समय अर्थतन्त्र ठप्प भयो, त्यसको प्रभाव अहिले देखिरहेको छ। बन्दको असर एक किसिमको थियो, त्यो बेला थपिएको दायित्व अहिले प्रकट हुन थालेको छ,’ मन्त्री डा. महतले भने, ‘मलाई लाग्छ यो अस्थायी हो। विचार नपुर्याइ गरेको निर्णयले समस्या जम्मा भएका छन्, यसलाई सफा गर्न समय लाग्छ, यसको सफाइको सुरुवात हामीले गरेका छौं।’


