काठमाडौँ- स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बहादुर बस्नेतले भीआईपी र भीभीआईपीहरुको उपचार नेपालमै गर्नको लागि विशेषज्ञ डाक्टरहरुको टिम तयार गरेको बताएका छन्।
आज मन्त्रालयमा आयोजित अन्तरक्रिया कार्यक्रममा मन्त्री बस्नेतले भीआईपी र भीभीआईपीहरुको उपचार नेपालमा गर्नाले जनताको माग पूरा हुने, र देशको सम्पत्ति बाहिर नजाने भन्दै चिकित्साकहरुको टिम बनाउँने बताए।
‘भीआईपी र भीभीआईपीहरुको उपचारको नेपालमा नै गर्नुपर्छ, नेपालमा भएका विशेषज्ञहरुबाट जुन उपचारको लागि माननीयहरु बाहिर जानु भएको छ त्यो उपचार नेपालमा नै हुन सक्छ। यसकारण विशेषज्ञ डाक्टरहरुको टिम तयार गरौं र वीर अस्पतालमा यसको सेवा सुरु गरौं,’ उनले भने, ‘यहाँ हुदाँहुँदै पनि कोही बाहिर जान चहानु भयो भने उहाँहरु आफ्नो स्वखर्चमा जानु हुन्छ। यसबाट जनताको माग पूरा हुने, देशको सम्पत्ति बच्ने हुन्छ र नेपाली चिकित्साकहरुप्रति विश्वास पनि बढ्छ। अब नेपाली स्रोत र साधनबाट उपचारका लागि आवश्यक सबै उपकरणहरु उपलब्ध छ।’
मन्त्री बस्नेतले उक्त स्वास्थ्यकर्मीहरुको टिमले नेपालको स्वास्थ्य क्षेत्रमाथि विश्वास बढाउनुको साथै भएको जनशक्तिले बाहिरको नागरिकलाई पनि उपचारको लागि नेपालमा ल्याउँन सक्ने बताए।
यसको साथै वीर अस्पतालमा ८ बजेदेखि ओपीडी सेवा सुरु गर्दा सेवा राम्रो भएको र सरकारी अस्पतालमा विरामीको संख्या बढ्दै गएको पनि उनको भनाइ छ।


