धनगढी– अविरल वर्षाका कारण कैलाली र कञ्चनपुरमा साढे ५ सयभन्दा बढी घरपरिवार बाढीका कारण प्रभावित भएका छन्। कैलालीमा चार सय ६३ घरमा क्षति भएको छ भने कञ्चनपुरमा एक सय भन्दा बढी घरमा बाढी पसेको सम्बन्धित जिल्ला प्रशासन कार्यालयले जानकारी दिएका छन्।
कैलाली प्रशासनको तथ्यांक अनुसार जिल्लाका विभिन्न क्षेत्रका चार सय ६३ घरमा बाढीले क्षति गरेको छ। कान्द्रा नदीले घोडाघोडी नगरपालिका वडा नम्बर ७ को सिराधानी शिविरमा १५० घरमा क्षति पुर्याएको छ। कैलारी गाउँपालिका-७ मा कटैनी नदीले ८५ घरमा क्षति गरेको छ।
धनगढी उपमहानगरपालिकाको वडा नम्बर १५ कनरीमा खुटीया नदीले १५ घर, गोदावरी नगरपालिका-१ को खैरना खोलाले चैतनपुरमा एक पसलमा क्षति गरेको छ।
कैलालीकै भजनी नगरपालिका वडा नम्बर २ को काडा नदीले मोहनपुरमा १५ घर, वडा नम्बर ३ को ढुसीमा ५ घरमा क्षति, जनकपुरमा एक घर, पुलियापुरमा १६ घर र कुटीमा ५० घरमा क्षति भएको छ। जोशीपुर गाउँपालिका वडा नम्बर ३ फाँडिया र भितरिया गाउँमा कादा नदीको बाढीले ५६ घरमा क्षति भएको छ। कैलारी गाउँपालिकाको वडा नम्बर ७ का बसन्तामा ८५ घर, भुइयाँफाटामा २० घर, बडकी बसन्ताका ५० घरमा क्षति भएको छ।
कञ्चनपुरका सय घर प्रभावित
कञ्चनपुरमा एक सय १० घरमा पानी पसेको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार वर्षाका कारण नदी तथा खोलामा पानीको सहत बढ्दा कञ्चनपुरको पुनर्वास र कृष्णपुर नगरपालिकामा केही घरमा पानी पसेको हो।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश डाँगीले दोदा नदीको सहत बढ्दा पुनर्वास नगरपालिका–५ सिम्रीस्थित राना बस्तीका ६० घरमा पानी पसेको बताए। उनका अनुसार वर्षाकै कारण कृष्णपुर नगरपालिका-७ शान्तिपुर टोलमा मोहना नदीको पानी पस्दा ५० घरमा पसेको बताए। कञ्चनपुरको चुरे क्षेत्रमा सोमबारदेखि भएको वर्षाका कारण यहाँका खोलानाला र नदीमा जलस्तर बढेको हो।
‘घरभित्र पानी पसेपनि डुबान नै भएर विस्थापित हुनुपर्ने स्थिति छैन,’ प्रवक्ता डाँगीले भने, ‘पानी पसेको क्षेत्रमा सुरक्षाकर्मीको टोली पनि खटिएका छन्।’ सुरक्षा निकायले यहाँको शुक्लाफाँटा नगरपालिका–७ कालापानीस्थित स्याली नदीमा फसेका दुई र कृष्णपुर नगरपालिका-१ स्थित ओदाली खोलामा फसेका दई जना गरी चार जनाको उद्धार गरेको जनाएको छ।
वीरगञ्जमा पनि डुबान
अबिरल वर्षाका कारण वीरगञ्ज महानगरपालिका–३० लालपर्सा र प्रसोतिपुरको एक दर्जन घर डुबानमा परेका छन्। स्थानीय भेडाहा खोलाको पानी गाउँमा पस्दा लालपर्सा, प्रसोतिपुरलगायत गाउँका एक दर्जन घर डुबानमा परेको स्थानीयले बताएका छन्।
यद्यपि आज बिहानदेखि पानीको सतह घट्दै गएको छ। बस्ती डुबानमा परेपछि प्रतिनिधिसभाका सदस्य तथा पूर्वमन्त्री प्रदीप यादव र वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले वस्तीको स्थलगत निरीक्षण गरेका छन्।
पूर्वमन्त्री यादवले भेडाहा खोलामा ड्याम लगाइए मात्रै यहाँ हुने डुबानको समस्या समाधान हुने र त्यसका लागि स्थानीयले नै सहयोग गर्नुपर्ने बताए। डुबानको समस्या दीर्घकालीन रुपमा समाधानका लागि भेडाहामा ड्याम लगाउने काम अघि बढेको र केही व्यक्तिका कारण अवरोध हुँदा ढिलाइ हुनपुगेको भन्दै चाँडै सम्पन्न गराउन लागि परेको महानगर प्रमुख सिंहले जानकारी दिए।
तत्काललाई पानी निकासा हुने गरी व्यवस्था मिलाउने र डुबानमा परेकाका लागि उचित राहतको ब्यवस्था मिलाइने उनको भनाइ छ। भेडाहा खोलाको बाढी वीरगञ्जको सिर्सिया नदीमासमेत छरिएर आइपुगेको छ।
प्रधानमन्त्रीको निर्देशन
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्षायाममा प्राकृतिक प्रकोपबाट हुनसक्ने सम्भावित क्षतिप्रति पूर्वसतर्कता अपनाउन र विपद् व्यवस्थापनको पूर्वतयारीलाई प्रभावकारी बनाउन निर्देशन दिएका छन्।
मंगलबार बिहान प्रधानमन्त्री प्रचण्डले प्रहरी महानिरीक्षक वसन्त कुँवरलाई यस्तो निर्देशन गरेका हुन्।
‘वर्षाका कारण विभिन्न जिल्लामा आएको बाढीपहिरोबाट ठूलो धनजनको क्षति भएको छ। क्षति न्यूनीकरण गर्न र पूर्वतयारीलाई प्रभावकारी बनाउन प्रहरी सचेत रहन जरुरी छ,’ महानिरीक्षक कुँवरलाई प्रधानमन्त्री दाहालले भने, ‘त्यसका लागि तयार भएर बस्नुहोला।’
उद्धार, राहत र पुनर्स्थापनाका लागि सक्रिय हुन प्रधानमन्त्रीको निर्देशन थियो।


