कुश्मा- कालीगण्डकी बचाऔं अभियानका अभियन्ता आरके अदिप्त गिरीविरुद्ध पक्राउ पुर्जी जारी भएको खबर सार्वजनिक भएपछि सामाजिक सञ्जालमा यसको विरोध भएको छ। खासगरी सामाजिक अभियन्ता, पत्रकार, रंगकर्मी तथा साहित्यकारहरुले गिरीविरुद्ध जारी भएको पक्राउ पुर्जीप्रति रोश व्यक्त गरिरहेका छन्।
गिरीले सामाजिक सञ्जालमा पर्वतका पत्रकारविरुद्ध लेखेको भन्दै उनीविरुद्ध साइबर अपराध मुद्दामा किटानी जाहेरी परेको थियो।
फोटो पत्रकारसमेत रहेका अभियान्ता गिरीले पर्वतका पत्रकारमाथि पटक पटक टिप्पणी गर्दै आलोचनात्मक रुपमा फेसबुक मार्फत आफ्ना अभिव्यक्ति दिँदै आइरहेका थिए। पत्रकार गिरीले व्यक्तिगत जीवनलाई नै असर पर्ने गरी आपेक्ष लगाएको भन्दै पर्वतका केही पत्रकारले किटानी जाहेरी दिएको जिल्ला प्रहरी कार्यालय पर्वतले जानकारी दिएको छ।
पर्वतका पत्रकार र अभियन्ता गिरीबीच सौहार्दता कायम गर्न प्रहरीले प्रयास गरेको तर कुरा नमिलेपछि विषय किटानी जाहेरी र पक्राउ पुर्जीसम्म पुगेको भनाइ पर्वत प्रहरीको छ।
अभियन्ता गिरीले केही वर्षदेखि कालीगण्डकी बचाउ अभियान, कुश्मा कला परियोजना चलाइरहेका छन्।
प्रकाशित: २०८० साउन २३ गते मङ्गलबार ०६:०७