चितवन- जिल्ला प्रशासन कार्यालय चितवनले राजमार्गको बाढीपहिरो, ट्राफिक जामजस्ता घटनाको व्यवस्थापन गर्न राज्यका अंगहरू सक्षम रहेको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीको सहयोग आवश्यक नरहेको बताएको छ।
मंगलबार कालीखोला नजिकै लेदो खसेर नारायणगढ–मुग्लिन सडक अवरुद्ध भएपछि ट्राफिक व्यवस्थापन गर्न भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आरएटी नाम दिएर समूह परिचालन गरेपछि यस विषयमा ध्यानाकर्षणसमेत भएको जानकारी दिएको छ।
‘कुनै अमुक दल तथा सो अन्तर्गतका संगठनको सहयोग नलिइएको, लिन स्वीकृति नदिइएको व्यहोरा यसै सूचनाद्वारा जानकारी गराउँदछौं,’ प्रशासन कार्यालयले भनेको छ।
आरएटी लेखेको ज्याकेट लगाएका व्यक्तिले वाकीटकीसमेत बोकेको तस्बिर सामाजिक सञ्जालमा भेटिएको भन्दै त्यस विषयमा छानबिन गर्न प्रशासनले प्रहरीलाई निर्देशन दिएको समेत चितवनका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
‘वाकीटकीसमेत देखिएकोमा उक्त संचार साधन स्वीकृति र दर्तावाल हो होइन छानबिन गर्न प्रहरीलाई निर्देशन गरिसकिएको व्यहोरा समेत जानकारी गराउँदै विपदका यस्ता घटनाको राहत उद्धार र व्यवस्थापन गर्न सुरक्षा निकाय लगायत राज्यका अङ्गहरु सक्षम रहेको जानकारी गराउँदछौं,’ पौडेलको हस्ताक्षरमा जारी भएको विज्ञप्तिमा उल्लेख छ।
विजयी भएको एक सय दिन पुगेको अवसरमा केही दिनअघि रास्वपाका सभापति रहेका चितवन क्षेत्र नम्बर २ का सांसद रवि लामिछानेले नारायणगढ–मुग्लिन सडकमा पहिरो जाँदा उद्धार तथा व्यवस्थापनका लागि र्यापिड एक्सन टिम (आरएटी) निर्माण गर्ने घोषणा गरेका थिए।
प्रशासन कार्यालयले रास्वपाका कार्यकर्ताले प्रयोग गरेको संचारको साधन वाकीटकी स्वीकृति लिइएको र दर्तावाल हो होइन छानबिन गर्न प्रहरीलाई निर्देशन पनि दिएको छ।
चितवनका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले ठूला विपद्का घटनामा कुनै दल विशेष वा संगठनको परिचय बिना विशुद्ध स्वयंसेवी राहत उद्धारकर्मीको रुपमा राजनीतिक दल, नागरिक समाजलगायतका आम सर्वसाधारण नागरिकले जिल्ला, स्थानीय विपद् व्यवस्थापन समितिको स्वीकृति लिएर, खटिएका सुरक्षाकर्मीको समन्वयमा उद्धारमा खटिन सक्ने बताएका छन्।



