पोखरा- गण्डकी प्रदेशमै पहिलोपटक ‘ओपन हार्ट सर्जरी’ सफलतापूर्वक सम्पन्न भएको छ। पोखराको नागढुंगामा रहेको चरक मेमोरियल अस्पतालमा एक साताअघि गरिएको हो। बिरामी डिस्चार्ज हुने बेलामा अस्पतालले प्रेस मिट गरी ओपन हार्ट सर्जरीबारे जानकारी दिँदै खुशी व्यक्त गरेको हो।
नेपालका वरिष्ठ मुटुरोग विशेषज्ञ उपप्राध्यापक डा अनील भट्टराईको नेतृत्वको टोलीले पोखरा महानगरपालिका-२०, भलामका ४५ वर्षीय विष्णु गौतमको मुटुको ओपन हार्ट सर्जरी सफलतापूर्वक गरेको अस्पतालका प्रबन्ध निर्देशक कपील पोखरेलले जानकारी दिए।
यो गण्डकी प्रदेशमै पहिलोपटक गरिएको सर्जरी हो। चरकले ३ करोडको प्राविधिक उपकरण जडानगरेसँगै पोखरामा पनि सम्भव भएको हो। साउन २६ गते सर्जरी गरिएका बिरामी गौतम आइतबार डिस्चार्जसमेत हुँदैछन्। उनको मुटुको स्वास्थ्य अवस्था अहिले राम्रो छ।

डा. भट्टराईका अनुसार गौतमको मुटुको दुई ठूला नसा ब्लक भएको थियो। हात र घाँटीको नसा मुटुमा हालेर सर्जरी गरिएको हो। अप्रेसन अवधि करिब ३ घण्टा लागेको थियो। पोखराका विभिन्न अस्पतालमा ट्रान्सक्याथेटर एओर्टिक भल्व इम्प्लान्टेसन (टिएभिआई) लगायत प्रविधिबाट मुटुको उपचार गरिँदै आएपनि छाति छिरेर अर्थात् ओपन हार्ट सर्जरी भने पहिलो पटक भएको हो।
अब पोखरामै ओपन हार्ट सर्जरी सेवा सुरु भएकाले सर्जरी गर्न काठमाडौं जानुपर्ने बाध्यता हटेको डा. भट्टराईले बताए। चरकले इक्यूपमेन्ट जडान गरेपनि पूर्ण सर्जरीका लागि काठमाण्डौबाटै चिकित्सकीय टीम भने ल्याउनुपर्ने बाध्यता छ। अहिले पोखरामा एक जना मात्र यस सर्जरीका लागि सर्जन छन्। गौतमको डाक्टर भट्टराईको नेतृत्वमा अप्रेसन गरिँदा डाक्टरहरु कृष्णप्रसाद बस्याल, अर्जुन गुरुङ र मणीन्द्र बस्नेत सामेल थिए।
‘अन्य धेरै कुरामा पोखरा अगाडि भए पनि मेडिकल साइन्समा हामी पछाडि थियौँ। अर्थात् चिकित्सातर्फ एकदमै कम विकास भएको छ। मुटुको ओपन हार्ट सर्जरी अब पोखरामै सुरु भएको छ। यसलाई निरन्तरता दिनुपर्छ,’ उनले भने।
पहिलो सर्जरी भएकाले निःशुल्क गरिएको अस्पतालले जनाएको छ। ओपन हार्ट सर्जरीका लागि अवस्था गरी खर्च लाग्ने चिकित्सकहरु बताउँछन्। सर्जरीका लागि सामान्यतया ५/६ लाख लाग्ने पनि डा. भट्टराईले बताए।

सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्र र मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा मात्र मुटुका बिरामीले विपन्न शीर्षकमा १ लाख रुपैयाँ सहयोग पाउने तर अन्य ठाउँमा नपाइने भएपनि पोखराको चरकमा त्यो सुविधा सुरु भएको एमडी पोखरेलले बताए।
ओपन हार्ट सर्जरीका लागि १ महिनाअघि नेपाल सरकारबाट स्वीकृत लिई आवश्यक सामाग्री जडान गरिएको पोखरेलले बताए। ‘हामी सर्जरीका लागि तयार भएका छौं। अब सबै तयार छौँ, सर्जरीका लागि काठमाण्डौका चिकित्सकसँग समन्वय गरेर सबै सर्जरी यहीँ गर्न सक्षम छौँ।’ पोखरेलले भने।अस्पतालका एमडी पोखरेलका अनुसार ओपन हार्ट सर्जरी भनेको बिरामीलाई तुरुन्तै गर्नुपर्ने होइन, योजना बनाएर गर्नुपर्ने भएकाले चिकित्सकहरुलाई पोखरामा दक्ष चिकित्सकहरूलाई डाक्न सकिने सुनाए। डाक्टर भट्टराईले भने पोखरामै आवश्यक जनशक्ति पोखरामा विकसित हुँदै जाने विश्वास व्यक्त गरे।
पोखरामै ओपन हार्ट सर्जरी सफल हुँदा विष्णुकी पत्नी रीता गौतमले खुसी व्यक्त गरिन्। ‘उहाँ (श्रीमान्) बिरामी भएपछि गण्डकी अस्पताल, मणिपाल लगेँ। त्यसपछि यहाँ (चरक) मा १ महिनाअघि ल्याएका हौँ। अस्पतालको खर्च सबै अस्पतालले व्यहोरेको हो,’ उनले भनिन्, ‘काठमाडौं जानुपरेको भए धेरै खर्च लाथ्यो होला। यहाँ खर्च पनि भएन, आफ्नै ठाउँ दुःख पनि भएन।’ साउदी अरबमा केही वर्ष बिताएर फर्किएपछि विष्णुलाई मुटुको समस्या देखिएको थियो।
कार्डियोलोजीको इन्टरभेन्सनसहित वर्षमा ६-७ हजार जनाको मुटुको उपचार हुने गरेको उनको भनाइ छ।


