काठमाडौँ- प्रस्तावित प्रधानन्यायाधीश (प्रन्या) विश्वम्भरप्रसाद श्रेष्ठको संसदीय सुनुवाई सोमबार नै सक्ने तयारी संसदीय सुनुवाई समितिले गरेको छ। आइतबार सिंहदरबारमा बसेको संसदीय सुनुवाई समितिको बैठकले प्रस्तावित प्रन्याविरुद्ध तीन वटा मात्रै उजुरी परेकोसमेत जानकारी दिएको हो।
उजुरी उपर उजुरीकर्ता र सिफारीस श्रेष्ठलाई बैठकमा बोलाएर छलफल गरी समितिको सुनुवाइलाई सोमबार नै टुंग्याउने निर्णय समितिले गरेको हो।
समितिमा सभापतित्व गरिरहेका जेष्ठ सदस्य समेत रहेका पशुपति शमशेर राणाले बैठकको निर्णय सुनाउँदै भने, ‘भोलि उजुरीकर्तालाई समिति समक्ष उपस्थित गराई वा अन्य विधिबाट उजुरीको पुष्ट्याइँ,औचित्यता स्पस्टल पार्नको लागि आमन्त्रण गर्ने,प्रस्तावित व्यक्तिलाई पनि आमन्त्रण गरी छलफल गर्ने र सुनुवाई प्रकृया सम्पन्न गर्ने लगायतका विषयहरुको सम्बन्धमा संसदीय सुनुवाई समितिको कार्यविधि २०८०को दफा १५ बमोजिम सचिवालयबाट प्रस्तावित कार्यतालिका परिमार्जन सहित पारित गरिनहुन अनुरोध गर्दछु।’
गत असार १७ गते सिंहदरबारमा बसेको संवैधानिक परिषदको बैठकले वरिष्ठतम न्यायाधीश श्रेष्ठलाई सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा सिफारिस गर्ने निर्णय गरेको थियो।
भोलि (सोमबार) बस्ने संसदीय सुनुवाइ समितिले श्रेष्ठको नाम अनुमोदन गरेमा श्रेष्ठ २०८१ साल असोज १९ गतेसम्म प्रधानन्यायाधीश हुनेछन्।


