काठमाडौँ– काठमाडौँबाट म्याग्दीको बेनीतर्फ जाँदै गरेको बस दुर्घटना भएको प्रति प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दुःख व्यक्त गरेका छन्। बुधबार फेसबुकमा स्टाटस लेख्दै ८ जनाको मृत्यु र २० जना घाइते हुने गरी भएको दुर्घटनाप्रति उनले दुःख व्यक्त गरेका हुन्।
काठमाडौँबाट म्याग्दी जाँदै गरेको बस बुधबार बिहान गजुरी–२ चालिसे छहराबाट त्रिशुली नदीमा खसेको थियो। दुर्घटना भएका प्रदेश ३–०१–००५ ख ९९५२ नं बस दुर्घटनामा परेको हो।
‘८ यात्रुको निधन भएको समाचारले दुखी तुल्याएको छु। सवारी दुर्घटनामा परी ज्यान गुमाउनुहुने मृतकहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवार र शुभेच्छुकहरूमा समवेदना प्रकट गर्दछु,’प्रधानमन्त्रीको स्टाटसमा लेखिएको छ।
घाइते यात्रुहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका प्रधानमन्त्रीले उद्धारकार्य प्रभावकारी बनाउन गृह प्रशासन, सुरक्षा अंग र स्थानीय प्रशासन लगायत सम्बन्धित सबैलाई निर्देशन दिएको समेत जानकारी गराएका छन्।
घटनामा परी घाइते भएकाहरूको धादिङ तथा काठमाडौँमा उपचार सुरु भएको छ।
घटनामा मृत्यु तथा घाइते भएकाहरूको पहिचान खुल्न सकेको छैन। घटनाका विषयमा थप जानकारी प्राप्त हुने क्रम जारी रहेको धादिङ प्रहरीले जानकारी दिएको छ।


