काठमाडौँ- नेपाली कांग्रेसले आयोजना गरेको ‘पोलिसी ह्याकाथन’को दोस्रो चरणका लागि १० समूह छानिएका छन्। २२७ आवेदक समूहमध्ये निर्णायक मण्डलले १० उत्कृष्ट समूह छानेको हो।
निर्णायकमा अर्थशास्त्री समीर खतिवडा, प्राकृतिक सम्पदा विज्ञ सन्तोषमणि नेपाल, जलवायु विज्ञ रिता सिंह, प्राध्यापक राजेश राई, शिक्षक नरोत्तम अर्याल, सुशासन तथा नेतृत्व विज्ञ पुकार मल्ल र शिक्षक स्वस्तिका श्रेष्ठ छन्।
छानिएका प्रत्येक समूहका अवधारणालाई थप परिष्कृत गर्न प्रत्येक समुहलाई परामर्शसहित दिशानिर्देश गर्न परामर्शदाता उपलब्ध गराइएको कांग्रेसले जानकारी दिएको छ।
नेपाली कांग्रेस केन्द्रीय कार्यालय, वीपी स्मृति भवन सानेपामा छानिएका समूहलाई परामर्शदाताको उपस्थितिमा ‘ब्रेन स्टर्मिङ सेसन’समेत गरिएको छ।
१८ वर्षदेखि ४० वर्षसम्मका युवाहरूले ३ देखि ५ जनासम्मको समूह बनाएर नीति पत्रसहित पोलिसी ह्याकथनका लागि कांग्रेसले आवेदन खुलाएको थियो। ‘गिग इकोनोमी’ र क्लाइमेट एक्सनमा पोलिसी ह्याकाथन गरेको हो।
अन्तिम प्रस्तुतिका आधारमा मूल्यांकनसहित भदौ ९ गते विजेता घोषणा गरिनेछ। पहिलो हुनेलाई ३ लाख रुपैयाँ, दोस्रोलाई १ लाख ५० हजार रुपैयाँ र तेस्रोलाई ५० हजार रुपैयाँ पुरस्कार दिइने कांग्रेसले जनाएको छ।
युवालाई पार्टी र नीतिनिर्माणमा जोड्न ह्याकाथन कार्यक्रमको आयोजना गरिएको कांग्रेसले बताएको छ।


