पोखरा- मुस्ताङ जिल्लास्थित घरपझोङ गाउँपालिकका अध्यक्ष मोहनसिंह लालचन जुवाको खालबाट पक्राउ परेका छन्। पोखराको सिर्जनाचोकस्थित होटल लक्ष्मीमा बिहीबार साँझ जुवा खेलिरहेका बेला उनीसहित ७ जना पक्राउ परेका हुन्।
उनीहरूको साथबाट ४ लाख ४७ हजार ८० रूपैयाँ बरामद गरेको वडा प्रहरी कार्यालय बैदामका डीएसपी वेदप्रकाश जोशीले जानकारी दिए।
अध्यक्ष लालचनले आफ्नो पूरा नाम नभनेर मोहन थकाली मात्र भनेका थिए। पक्राउ पर्ने होटल सञ्चालक मुस्ताङ घोरपझोङका ५७ वर्षीय इन्द्रबहादुर हिराचन, नवीनप्रसाद थकाली, सिर्जनाचोकका शंकर ज्वारचन, पोखरा महेन्द्रपुलका गुन्ज हिराचन, रामबजारका राजु गुरुङ र रामबजारकै दलबहादुर हिराचन पनि छन्।
सातै जनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।


